मालपोतका हाकिम र सहयोगीविरुद्ध २४ लाख ५० हजार घुस मुद्दा

मालपोतका हाकिम र सहयोगीविरुद्ध २४ लाख ५० हजार घुस मुद्दा तरुण खबर २८ श्रावण २०८२, बुधबार १४:४७
मालपोतका हाकिम र सहयोगीविरुद्ध २४ लाख ५० हजार घुस मुद्दा

काठमाडाैं, २८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गा मोहीको नाममा नामसारी गरिदिने भन्दै सेवाग्राहीसँग २४ लाख ५० हजार रुपैयाँ घुस मागेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

आयोगका अनुसार, आचार्य र राउतले मोही बाँडफाँड र दर्ता प्रक्रियालाई सहज बनाइदिने भन्दै मिलेमतोमा सेवाग्राहीसँग उक्त रकम माग गरेका थिए। अनुसन्धानका क्रममा उनीहरू दुवैलाई मोबाइल र नगद रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

घुस प्रकरणमा संलग्न आचार्य र राउतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको हो। यस घटनाले सरकारी कार्यालयमा हुने भ्रष्टाचार र अनियमिततालाई उजागर गरेको छ।