नेपाल बैंकको नाफामा चामत्कारिक वृद्धि, प्रतिसेयर आम्दानी २५ रुपैयाँभन्दा बढी

नेपाल बैंकको नाफामा चामत्कारिक वृद्धि, प्रतिसेयर आम्दानी २५ रुपैयाँभन्दा बढी तरुण खबर २९ श्रावण २०८२, बिहीबार ११:३२
नेपाल बैंकको नाफामा चामत्कारिक वृद्धि, प्रतिसेयर आम्दानी २५ रुपैयाँभन्दा बढी

काठमाडाैं, २९ साउन । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा अभूतपूर्व नाफा वृद्धि हासिल गरेको छ। बैंकले प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले रु. ३ अर्ब ७७ करोड ३० लाख नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको नाफाभन्दा १३२.७५ गुणा बढी हो। अघिल्लो वर्ष बैंकको नाफा मात्र रु. २ करोड ८४ लाख थियो।

बैंकको यो सुधारमा खुद ब्याज आम्दानी र सञ्चालन नाफामा भएको वृद्धिको महत्त्वपूर्ण भूमिका रहेको छ। बैंकको खुद ब्याज आम्दानी १६.८२% बढेर रु. १० अर्ब ८ करोड ७१ लाख पुगेको छ भने सञ्चालन नाफा ६९२.४३% ले बढेर रु. ५ अर्ब ४१ करोड ५८ लाख ८६ हजार पुगेको छ।

यसैगरी, बैंकको इम्पेयरमेन्ट चार्ज पनि उल्लेख्य रूपमा घटेको छ। अघिल्लो वर्ष रु. ४ अर्ब ७५ करोड ५२ लाख रहेको यस्तो चार्ज घटेर यस वर्ष रु. १ अर्ब १३ करोड ५५ लाखमा सीमित भएको छ। यसले पनि नाफा बढाउन सहयोग पुगेको देखिन्छ।

यद्यपि, नाफामा ठूलो सुधार देखिए पनि बैंकको वितरणयोग्य नाफा भने रु. ४४ करोड ९० लाख ऋणात्मक रहेको छ।

हाल बैंकको प्रतिसेयर आम्दानी (EPS) रु. २५.६८ छ भने प्रतिसेयर नेटवर्थ रु. २५९.८१ रहेको छ। बैंकको चुक्ता पुँजी रु. १४ अर्ब ६९ करोड ४० लाख र जगेडा कोषमा रु. २३ अर्ब ४८ करोड २९ लाख छ।

व्यवसाय विस्तारमा पनि बैंक आक्रामक देखिएको छ। बैंकको निक्षेप १७.२९ प्रतिशतले बढेर रु. ३ खर्ब ३२ अर्ब २ करोड १० लाख पुगेको छ भने कर्जा लगानी पनि १३.८९% ले वृद्धि भई रु. २ खर्ब २१ अर्ब ७० करोड ३४ लाख पुगेको छ।

खराब कर्जातर्फ भने केही वृद्धि देखिएको छ। अघिल्लो वर्ष ४.३३% रहेको खराब कर्जा यस वर्ष बढेर ४.४७ प्रतिशत पुगेको छ।