तरुण खबर
२९ श्रावण २०८२, बिहीबार १२:२३
काठमाडाैं, २९ साउन । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १०.१३ प्रतिशतको नाफा वृद्धि हासिल गरेको छ। कम्पनीले हालै प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवमा रु. ३५ करोड ३ लाख ८८ हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा रु. ३१ करोड ८१ लाख ६८ हजार थियो।
नाफा वृद्धिसँगै कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ८.९९% ले बढेर रु. ७८ करोड ७४ लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो शुल्क रु. ७२ करोड २५ लाख थियो। यसैगरी, कम्पनीको कुल आम्दानी पनि २.७१% ले बढेर रु. १ अर्ब ४७ करोड ६८ लाख पुगेको छ भने कुल खर्च २.०५% ले घटेर रु. ९७ करोड ६३ लाखमा झरेको छ।
कम्पनीले कमिसनबापत रु. ३९ करोड ३५ लाख र लगानी तथा कर्जाबाट रु. १७ करोड १ लाख आम्दानी गरेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (EPS) रु. १६.३० रहेको छ र प्रतिसेयर नेटवर्थ रु. १५२.१२ छ। हाल कम्पनीको चुक्ता पुँजी रु. २ अर्ब १५ करोड रहेको छ भने विशेष जगेडा कोषमा रु. ७५ करोड ९८ लाख र महाविपत्ति कोषमा रु. ४ करोड ६४ लाख सञ्चित छ। कम्पनीको खुद दाबी भुक्तानी रु. ३८ करोड ७० लाख रहेको छ।


