तरुण खबर
२९ श्रावण २०८२, बिहीबार १२:२६
काठमाडाैं, २९ साउन । समृद्धि फाइनान्स लिमिटेडले लामो समयपछि नाफामा फर्किएको सुखद खबर सार्वजनिक गरेको छ। कम्पनीले हालै प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको यस अवधिमा रु. ३ करोड १९ लाख नाफा कमाउन सफल भएको छ।
फाइनान्सको व्यवसायिक अवस्थामा उल्लेख्य सुधार आएको छ। यस अवधिमा निक्षेप संकलन १३.७२% ले वृद्धि भएको छ भने कर्जा लगानी ९.६२% ले बढेको छ। सबैभन्दा महत्त्वपूर्ण सुधार भने निष्कृय कर्जा (NPL) अनुपातमा आएको कमी हो। अघिल्लो वर्षको १९.९३% बाट घटेर यस अवधिमा यो अनुपात ९.६६% मा झरेको छ।
यससँगै, फाइनान्सको प्रतिसेयर आम्दानी (EPS) पनि रु. ३.९० कायम भएको छ। पोखरा फाइनान्स लिमिटेडसँग मर्जर सम्झौता गरेको यस फाइनान्सले आगामी दिनमा अझ बलियो र विश्वसनीय संस्थाको रूपमा स्थापित भई सेयरधनीहरूलाई उच्चतम लाभांश प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


