वाणिज्य बैंकहरूको नाफामा कीर्तिमानी वृद्धि, नबिल शीर्ष स्थानमा

वाणिज्य बैंकहरूको नाफामा कीर्तिमानी वृद्धि, नबिल शीर्ष स्थानमा तरुण खबर ३० श्रावण २०८२, शुक्रबार ११:२९
वाणिज्य बैंकहरूको नाफामा कीर्तिमानी वृद्धि, नबिल शीर्ष स्थानमा

काठमाडाैं, ३० साउन । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालका वाणिज्य बैंकहरूको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ। हाल सञ्चालनमा रहेका २० वटै बैंकले प्रकाशन गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार, बैंकहरूको कुल खुद नाफा ४३.५५ प्रतिशतले वृद्धि भई रु. ७१ अर्ब १२ करोड ४८ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकहरूले कुल रु. ४९ अर्ब ५४ करोड ५३ लाख खुद नाफा कमाएका थिए।

यस वर्ष नाफाको प्रतिस्पर्धामा ठूलो फेरबदल आएको छ। नाफामा नम्बर एकको स्थान नबिल बैंकले कायम राख्न सफल भएको छ, जसले सर्वाधिक रु. ७ अर्ब १२ करोड ७५ लाख खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशतले बढी हो।

नाफाका आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले आफ्नो स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ। बैंकले रु. ६ अर्ब ७५ करोड ६६ लाख खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६४.४४ प्रतिशतले बढी हो। यसले ग्लोबल आईएमई बैंकलाई पछि पारेको छ।

प्रायः दोस्रो स्थानमा रहने ग्लोबल आईएमई बैंक यस वर्ष तेस्रो स्थानमा झरेको छ। बैंकको नाफामा सामान्य १.१० प्रतिशतले मात्र वृद्धि भई रु. ६ अर्ब २० करोड ४७ लाख पुगेको छ। त्यस्तै, प्रभु बैंकको नाफामा चामत्कारिक सुधार देखिएको छ, जुन ९६५.४१ प्रतिशतले बढेर रु. ५ अर्ब ४४ करोड २६ लाख पुगेको छ र बैंक चौथो स्थानमा आइपुगेको छ।

नाफा वृद्धिदरका आधारमा हेर्दा, कुमारी बैंक पहिलो सूचीमा रहेको छ। बैंकको नाफा ४५९ गुणाले बढेर रु. २ अर्ब ११ करोड ६४ लाख पुगेको छ। यस्तै, नेपाल बैंकको नाफा १३३ गुणा बढेको छ भने माछापुच्छ्रे बैंकको नाफा ९२.४५ प्रतिशतले बढेको छ।

यसैबीच, ४ वटा बैंकको नाफामा भने गिरावट आएको छ। एनआईसी एसिया बैंकको नाफा ८५.५२ प्रतिशतले घटेर रु. १६ करोडमा सीमित भएको छ। यसैगरी, नेपाल एसबीआई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, र सिटिजन्स बैंकको नाफामा पनि क्रमशः ९.८६ प्रतिशत, ७.५१ प्रतिशत, र २.०८ प्रतिशतले कमी आएको छ।