तरुण खबर
३० श्रावण २०८२, शुक्रबार १२:१४
काठमाडाैं, ३० साउन । युक्रेनमा जारी युद्ध अन्त्य गर्ने महत्वाकांक्षासहित आज राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शिखर वार्ता हुँदैछ। विश्वका दुई शक्तिशाली राष्ट्रका प्रमुखहरू नेपाली समयअनुसार राति सवा १ बजे अमेरिकाको अलास्का राज्यको एन्कोरेज सहरमा भेट्दै छन्। अलास्काको यो भूभाग पहिले रुसकै हिस्सा थियो, जुन १५८ वर्षअघि रुसले अमेरिकालाई ज्यादै सस्तो मूल्यमा बेचेको थियो।
वार्ता दुई चरणमा हुनेछ। पहिलो चरणमा दुई राष्ट्रपतिबीच एक्लाएक्लै भेट हुनेछ भने दोस्रो चरणमा दुवै देशका प्रतिनिधिमण्डल पनि सहभागी हुनेछन्। भेटपछि दुवै राष्ट्रप्रमुखले संयुक्त प्रेस वार्ता गर्ने सम्भावना छ। अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ता सकिएलगत्तै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग भर्चुअल बैठक गर्ने कार्यक्रम पनि तय भएको छ।
पछिल्लो समय रुसले युक्रेनी भूमि कब्जा गर्ने अभियानलाई तीव्र पारेको र राजधानी किभमा समेत बारम्बार आक्रमण गरिरहेको खबरहरू आइरहेका छन्। युद्धमा लगातार जितिरहेको रुस र बिना शर्त युद्धविरामको धम्की दिइरहेको अमेरिकाबीच कुनै सम्झौता हुने/नहुने स्पष्ट भइसकेको छैन। तर संयुक्त प्रेस वार्ताको तयारीले कुनै न कुनै सहमतिको बिन्दु खोज्ने प्रयास भइरहेको अनुमान गरिएको छ।
यदि यो युद्ध अन्त्य भएमा अमेरिकी राष्ट्रपति ट्रम्पका लागि नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने बाटो खुल्न सक्नेछ। साथै यसले रुसमाथि दबाब सिर्जना गर्न ट्रम्पले भारतमाथि लगाएको ५० प्रतिशत अतिरिक्त आयात शुल्कको कारबाहीलाई पनि प्रभावित गर्न सक्नेछ। यदि सहमति भएमा यसको आधा अर्थात् २५ प्रतिशत अतिरिक्त आयात शुल्क तत्काल हट्ने अपेक्षा छ, अन्यथा आगामी अगस्ट २७ देखि ५० प्रतिशत आयात शुल्क लागू हुनेछ। ट्रम्पले यदि वार्तामा प्रगति नभए थप कठोर नीति अपनाउने धम्की दिइसकेका छन्।


