तरुण खबर
३० श्रावण २०८२, शुक्रबार १२:२१
काठमाडाैं, ३० साउन । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा ५३ करोड रुपैयाँभन्दा बढी नाफा कमाएको छ। हालै सार्वजनिक गरिएको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार, कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५.९५ प्रतिशतले बढेर ५३ करोड २३ लाख ३५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीको नाफा ५० करोड २४ लाख ६३ हजार रुपैयाँ रहेको थियो।
कम्पनीको खुद बीमा शुल्क आर्जनमा पनि उल्लेखनीय वृद्धि भएको छ। यस अवधिमा खुद बीमा शुल्क आर्जन ५७.८८ प्रतिशतले बढेर २ अर्ब २ करोड १० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब २८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।
यसैगरी, कम्पनीले समीक्षा अवधिमा १ अर्ब ८९ करोड ५७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा बढी हो। कम्पनीको कुल आम्दानी पनि ७.३६ प्रतिशतले बढेर २ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ पुगेको छ। तर, लगानी तथा ऋणबाट हुने आम्दानी भने घटेको छ। अघिल्लो वर्ष ३४ करोड ४४ लाख रुपैयाँ आम्दानी भएकोमा यो वर्ष २१ करोड ६२ लाख रुपैयाँमा झरेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २१.२९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २१०.३४ रुपैयाँ कायम भएको छ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ छ। कम्पनीले महाविपत्ति कोषमा ८ करोड ३२ लाख रुपैयाँ र जगेडा कोषमा ३३ करोड ३५ लाख रुपैयाँ राखेको छ।


