तरुण खबर
३० श्रावण २०८२, शुक्रबार १२:३२
काठमाडाैं, ३० साउन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेटले लिएका उद्देश्यहरू पूरा गर्नका लागि सक्रिय भएर लाग्न मातहतका निकायहरूलाई निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले यसपटकको बजेट यथार्थपरक भएकाले आर्थिक वृद्धि, पुँजीगत खर्च र राजस्व संकलनलगायतका लक्ष्यहरू पूरा गर्न सम्भव रहेको बताए।
अर्थमन्त्री पौडेलले औसत प्रयासले मात्र लक्ष्यहरू पूरा नहुने भन्दै कार्यशैलीमा सुधार ल्याउन र नतिजामुखी भएर काम गर्न आग्रह गरे। उनले समस्यामा अल्झिनेभन्दा समाधानका लागि सकारात्मक भूमिका निर्वाह गर्न जोड दिए। साथै, निजी क्षेत्रको मनोबल बढाउनका लागि ल्याइएका अध्यादेश, नीति र कार्यक्रमहरूको थप अध्ययन तथा अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याए।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले अर्थतन्त्रका सूचकहरू ठीक भए पनि निजी र सार्वजनिक क्षेत्रमा ‘आर्थिक आत्मविश्वास’ बढाउन जरुरी रहेको बताए। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ब्याजदर कम भएका बेला अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले केही निश्चित क्षेत्रमा ‘ठूलो धक्का’ दिनुपर्नेमा जोड दिए।
अर्थसचिव घनश्याम उपाध्याय र राजस्व सचिव दिनेशकुमार घिमिरेले विगतको नतिजाको आत्मसमीक्षा गरी काममा केन्द्रित हुन आग्रह गर्दै राजस्व प्रशासनमा थप सुधारको खाँचो रहेको बताए। अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेको जानकारी दिँदै आगामी दिनमा थप समन्वय र सहजीकरणलाई प्राथमिकता दिइने बताए। बैठकका सहभागीहरूले कार्यक्रम कार्यान्वयनका क्रममा देखापर्ने समस्याहरूको तत्काल समाधानमा जोड दिए।


