तरुण खबर
१ भाद्र २०८२, आईतवार ११:५९
काठमाडाैं, १ भदाै । बजारमा अत्यधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज (भदौ १ गते) बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ३१ दिनको अवधिका लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत उक्त रकम खिच्न लागेको हो।
यस बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। निक्षेप संकलनका लागि अनलाइनमार्फत आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिनेछ। यसमा न्यूनतम १० करोड र अधिकतम ५ करोडका दरले भाग जाने गरी कुल आह्वान रकमसम्मको बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंक तथा वित्तीय संस्थालाई पहिलो प्राथमिकता दिँदै रकम बाँडफाँड गर्ने बताएको छ। यस उपकरणको सावाँ र ब्याज असोज १ गते भुक्तानी गरिनेछ।


