तरुण संवाददाता
२ भाद्र २०८२, सोमबार १४:२७
काठमाडौं । गायक रामकृष्ण ढकालले चलचित्र ‘मालती मंगले’ को निर्माण कार्यलाई तीव्र बनाउने बताएका छन् । करिब तीन महिना लामो बेलायत, अमेरिका र क्यानडाको सांगीतिक भ्रमण सकेर नेपाल फर्केका ढकालले ‘मालती मंगले’ को निर्माण कार्यलाई तीव्रता दिने घोषणा गरेका हुन् ।
प्रकु पाण्डेयको निर्देशन रहने चलचित्र ‘मालती मंगले’ मा विजय बराल र नायिका वर्षा राउत अनुबन्धित भएका छन् । रानी म्युजिक इन्टरनेशनल प्रा.लिको व्यानरमा निर्माण हुन लागेको चलचित्रमा संयोग गुरागाँईको पटकथा तथा संवाद छ । सागर ज्ञवाली कार्यकारी निर्माता रहेको फिल्ममा महेश पौडेलको डीओपी, रोमी तण्डुकारको सम्पादन, राजनराज सिवाकोटीको संगीत रहनेछ । चलचित्रको कथा माधव घिमिरेको हो ।
दुई दशकपछि गायक ढकाल चलचित्रमा पुनरागमन गर्न लागेका हुन् । यसपटक उनी निर्माताको रुपमा फर्किन लागेका हुन् । चलचित्रको बजेट एक करोड तय छ । ढकालले दुई दशकअघि गोपाल कर्माचार्यले निर्माण गरेको ‘आशीर्वाद’मा अभिनय गरेका थिए । यसमा उनको सांगीतिक करिअरको यात्रालाई चित्रण गरिएको थियो ।


