तरुण संवाददाता
३ भाद्र २०८२, मंगलवार १३:५०
काठमाडौं । उपसभामुख इन्दिरा रानामगर हटाउने प्रस्ताव तत्कालका लागि स्थगित भएको छ । रानामगर हाल अमेरिका भ्रमणमा रहेकाले उनी आएपछि मात्रै प्रक्रिया अगाडि बढाइने भएको हो ।
उपसभामुख अमेरिकामा रहेकाले उनी नेपाल फर्किएपछि मात्र संसद् सचिवालयमा प्रस्ताव दर्ता गरिने कांग्रेसका एक नेताले बताए। उपसभामुख राना भदौ १३ गते स्वदेश फर्किने कार्यतालिका छ। सोही दिन महाअभियोग प्रस्ताव दर्ता गर्ने सत्तारुढ दलले तयारी गरेका हुन्।
उपसभामुख देशबाहिर रहेका बेला महाअभियोग प्रस्ताव दर्ता गर्दा हुने कानुनी जटिलता र नैतिक प्रश्नबाट पन्छिन सत्तारुढ दलले उपसभामुख स्वदेश फर्किने दिन महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन्।
उपसभामुख फेर्ने तयारीका लागि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेश बर्तौलाले सांसदहरूको हस्ताक्षर संकलन गरिसकेका छन्। प्रतिनिधिसभा नियमावली २०७९ को व्यवस्था उपसभामुख रानालाई पदीय आचरणअनुसार काम नगरेको भन्दै प्रस्ताव दर्ता गर्न लागिएको हो ।
मंगलबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक र एमालेले संसदीय दलको बैठक बोलाएर उपसभामुखविरुद्धको प्रस्तावबारे छलफल गरेका थिए ।।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरुबीच उपसभामुखले पदअनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी जुटेको स्रोतको भनाइ छ ।
बैठकमा प्रधानमन्त्री केपी ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकलगायतका नेताको सहभागिता थियो ।
कांग्रेस र एमालेलाई उपसभामुख रानामगरलाई हटाउने दुई तिहाइ बहुमत सांसद पुग्दैन । साना दलले साथ दिनुपर्छ । तर अहिलेसम्म कुनै पनि दलसँग यसबारे कुराकानी भएको छैन । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भने गृहमन्त्री रमेश लेखकले कुराकानी गरेको बुझिएको छ ।
यही विषयमा कुराकानी गर्न अहिले कांग्रेस संसदीय दलको कार्यालयमा सत्तारुढ दलको बैठक सुरु भएको छ । बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सहभागी छिन् ।


