तरुण खबर
४ भाद्र २०८२, बुधबार ११:१०
काठमाडाैं, ४ भदाै । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले ‘नाडा अटो शो–२०२५’ नेपालमा सवारी साधनको बिक्रीका लागि महत्वपूर्ण प्लेटफर्म बनेको बताएका छन्। उनले नेपालमा बिक्री हुने कुल गाडीमध्ये ४० प्रतिशत गाडी नाडा अटो शो मार्फत बुकिङ भई बिक्री हुने गरेको जानकारी दिए। १७औँ संस्करणको ‘नाडा अटो शो’ को समुद्घाटन कार्यक्रममा बोल्दै उनले अटो शोलाई प्रदर्शनी मात्र नभएर व्यवसायको थलोको रूपमा परिभाषित गरे।
चौधरीले अटोमोबाइल क्षेत्रले रोजगारी सिर्जना र राजस्व संकलनमा ठूलो योगदान पुर्याएको बताए। उनले नेपालमा सवारी साधन एसेम्ब्लिङको आवश्यकतामा जोड दिँदै यसका लागि आवश्यक पार्टपुर्जाको स्वदेशमै उत्पादन गर्नुपर्नेमा जोड दिए।
उनले नाडाले युवा पलायन रोक्न र युवा जनशक्तिलाई सीप तथा रोजगारी सुनिश्चित गर्न प्रयास गरिरहेको पनि बताए। सरकारसँग नाडाले नीतिगत तहमा पनि सल्लाह र सुझाव दिँदै आएको र अटोमोबाइल ट्रेडलाई सशक्त रूपमा प्रतिनिधित्व गरेको उनको भनाइ छ।
चौधरीले नाडाले सरकारले गरेका राम्रा कामहरूको पनि प्रशंसा गर्नुपर्ने र यसले थप राम्रो काम गर्न प्रोत्साहन मिल्ने बताए। उनले नाडा सरकारसँग सहकार्य गर्दै देशको प्रगतिमा योगदान पुर्याउन तयार रहेको सन्देश दिए।


