तरुण खबर
४ भाद्र २०८२, बुधबार ११:५९
काठमाडाैं, ४ भदाै । बजारमा अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले २५ दिनको अवधिका लागि निक्षेप संकलन बोलकबोल (Depo Auction) उपकरण मार्फत यो रकम तान्न लागेको हो।
यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा आधारित हुनेछ।
केन्द्रीय बैंकका अनुसार, आज दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट मात्र बोलकबोल गर्न सकिनेछ। सहभागी संस्थाहरूले कम्तिमा १० करोड रुपैयाँ र अधिकतम आव्हान गरिएको रकमसम्म, ५ करोड रुपैयाँले भाग जाँदा निःशेष हुने गरी बोलकबोल गर्न सक्नेछन्।
सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकता दिई रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलबाट संकलन गरिएको यस रकमको साँवा र ब्याज भुक्तानी भदौ २९ गते गरिनेछ।
बजारमा तरलता बढ्दा मुद्रास्फीति र आयात बढ्ने जोखिम हुन्छ, त्यसैले राष्ट्र बैंकले यसलाई नियन्त्रणमा राख्न समय-समयमा यस्ता उपकरणहरू प्रयोग गर्दै आएको छ। यसपटकको ३० अर्ब रुपैयाँको निक्षेप संकलनले बजारमा तरलताको सन्तुलन कायम राख्न मद्दत गर्ने विश्वास लिइएको छ।


