तरुण खबर
६ भाद्र २०८२, शुक्रबार १२:१९
काठमाडाैं, ६ भदाै । भारतले नेपालका दुई जलविद्युत आयोजनाबाट उत्पादित थप ८० मेगावाट बिजुली खरिद गर्न अनुमति दिएको छ। यससँगै भारतमा नेपालको बिजुली निर्यात गर्ने कुल स्वीकृत क्षमता १ हजार ९०.९ मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार, भारत सरकारले भदौ ५ गते मेवाखोला जलविद्युत आयोजनाको ४८.५ मेगावाट र करुवासेती हाइड्रोपावरको ३१.०४ मेगावाट बिजुली खरिदका लागि अनुमति दिएको हो।
यो अनुमति द्विपक्षीय सम्झौताअन्तर्गत मध्यम अवधिका लागि प्रदान गरिएको छ। यसको समयसीमा २०२५ अगस्ट २१ देखि २०२६ अक्टोबर ३१ सम्म रहनेछ। यसअघि नै भारतले नेपालबाट १ हजार १०.९ मेगावाट बिजुली खरिद गरिरहेको थियो।
भारतबाहेक नेपालले बंगलादेशलाई पनि ४० मेगावाट बिजुली निर्यात गर्दै आएको छ। यी दुवै मुलुकमा हुने निर्यातसहित नेपालको कुल बिजुली निर्यात स्वीकृत क्षमता १ हजार १३०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ। नेपालले वर्षायाममा बढी भएको बिजुली निर्यात गर्दै आएको छ भने सुख्खायाममा आवश्यकताअनुसार भारतबाट बिजुली आयात गर्ने गर्दछ।


