तरुण खबर
६ भाद्र २०८२, शुक्रबार १२:३४
काठमाडाैं, ६ भदाै । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले संयुक्त रूपमा आयोजना गरेको एक कार्यक्रममा भेन्चर हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराम शर्माले अटोमोबाइल क्षेत्रमा हायर पर्चेज कम्पनीहरूको लगानी रु २६ अर्ब ५० करोड पुगेको बताएका छन्।
‘नाडा अटो सो, २०२५’ को अवसरमा आयोजित ‘कर्जा नीतिमा स्थिरता: अटोमोबाइल बजारको दीर्घकालिन विकासको आधार’ विषयक अन्तरक्रियामा बोल्दै शर्माले काठमाडौंमा दर्ता भएका हायर पर्चेज कम्पनीहरूले गाउँगाउँसम्म पुगेर कर्जा प्रवाह गरेको जानकारी दिए।
उनले हायर पर्चेज कम्पनीहरूलाई कर्जा प्रवाहमा थप सहजीकरण गरिदिन आग्रह गर्दै नेपालमा स्थापित कम्पनीले बेच्ने गाडीमा ऋण दिँदा समस्या कम हुने गरेको बताए। हाल विद्युतीय गाडी (EVs) को माग बढी भएकाले त्यसका लागि कर्जाको माग पनि बढी रहेको उनले औंल्याए। अटो क्षेत्रमा कर्जा दिँदा बिक्रीपछिको सेवा र नेपालमा उपलब्ध सर्भिसलाई पनि प्राथमिकतामा राखिने र यस क्षेत्रमा खराब कर्जाको समस्या न्यून रहेको पनि उनले बताए।


