गोरखामा दूध उत्पादन बढाउन प्रतिलिटर ५ रुपैयाँ अनुदान

गोरखामा दूध उत्पादन बढाउन प्रतिलिटर ५ रुपैयाँ अनुदान तरुण खबर ९ भाद्र २०८२, सोमबार ११:३७
गोरखामा दूध उत्पादन बढाउन प्रतिलिटर ५ रुपैयाँ अनुदान

काठमाडाैं, ९ भदाै । गोरखा जिल्लामा दूध उत्पादन र पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न किसानहरूलाई नगद अनुदान दिने योजना सुरु गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गोरखाले चालु आर्थिक वर्षका लागि यस कार्यक्रमका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ।

केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. अनन्त कोइरालाका अनुसार, अब किसानहरूले उत्पादन गर्ने प्रतिलिटर दूधमा ५ रुपैयाँ नगद अनुदान पाउनेछन्। यो कदमले जिल्लालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने र किसानहरूलाई यस व्यवसायमा थप आकर्षित गर्ने लक्ष्य राखिएको छ।

डा. कोइरालाले यो अनुदानले साना किसानलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। अनुदान वितरणको जिम्मेवारी केन्द्रमा सूचीकृत सहकारी संस्थाहरूलाई दिइनेछ। ती सहकारी संस्थाहरूले किसानको घरदैलोमै पुगेर दूध सङ्कलन गर्ने र अनुदान रकम वितरण गर्ने व्यवस्था मिलाइनेछ।

गोरखाका गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकामा राम्रो मात्रामा दूध उत्पादन हुने गरेको छ। यस प्रकारका प्रोत्साहन कार्यक्रमहरूले किसानहरूलाई संगठित तरिकाले पशुपालन गर्न प्रोत्साहित गर्ने र जिल्लामा पशुपालन व्यवसायको प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।