तरुण खबर
९ भाद्र २०८२, सोमबार १३:४५
काठमाडाैं, ९ भदाै । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी, १७औं संस्करणको ‘नाडा अटो शो–२०२५’ आइतबार भव्यताका साथ सम्पन्न भएको छ। राजधानीको भृकुटीमण्डपमा ६ दिनसम्म चलेको यो प्रदर्शनीमा दर्शकको उत्साहजनक सहभागिता र सवारीसाधनको बुकिङले नयाँ कीर्तिमान कायम गरेको छ। नाडाका अनुसार, यस वर्षको शोमा १ लाख ६० हजारभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन्। यसले गाडीप्रेमीहरूलाई नयाँ मोडेलको अनुभव मात्र दिएन, यसले अटोमोबाइल उद्योगलाई नै नयाँ उचाइमा पुर्याउने संकेत पनि दिएको छ।
यो वर्षको अटो शोमा कुल ४ हजारभन्दा बढी सवारीसाधन बुकिङ भएका छन्, जुन गत वर्षको ३ हजार ८०० युनिटको तुलनामा धेरै हो। विशेषगरी विद्युतीय सवारीसाधन (EV) प्रति उपभोक्ताको आकर्षण निकै बढेको देखिन्छ। चारपाङ्ग्रे सवारीतर्फ, बीवाईडी सर्वाधिक १ हजार ४०० युनिट बुकिङसहित नम्बर १ ब्रान्ड बन्न सफल भएको छ। त्यसैगरी, टाटाले ८०० युनिट, नामीका ८१२ युनिट र डिपलका ६०७ युनिट गाडी बुकिङ भएका छन्। दुईपाङ्ग्रे सवारीतर्फ पनि उत्साहजनक बुकिङ भएको छ, जसमा रोयल इन्फिल्डको १६० युनिट सवारीसाधन बुकिङ भएको छ, जुन यो सेग्मेन्टमा सबैभन्दा धेरै हो।
प्रदर्शनीमा १३५ स्टल र ३० वटा नयाँ सवारीसाधनका मोडेलहरू सार्वजनिक गरिएको थियो, जसले उपभोक्तालाई नयाँ प्रविधिको झलक मात्र दिएन, भविष्यमा बजारमा आउने ट्रेन्डबारे पनि स्पष्ट संकेत गरेको छ। यस वर्षको नाडा अटो शोमा देखिएको सहभागिता, बुकिङ र जनचासोले आगामी दिनमा वातावरणमैत्री गाडीहरूको बजार विस्तार हुने व्यवसायीहरूको भनाइ छ। समग्रमा, यो प्रदर्शनीले नेपाली अटोमोबाइल बजारमा नयाँ उत्साह र सकारात्मक ऊर्जा थपेको छ।


