तरुण खबर
९ भाद्र २०८२, सोमबार १४:३१
काठमाडाैं, ९ भदाै ।यस वर्षको दसैँ–तिहारको पूर्वसन्ध्यामा नेपालमा दुई ठूला अटोमोबाइल प्रदर्शनी आयोजना गरिए। ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ र ‘नाडा अटो शो–२०२५’ ले उपभोक्तालाई गाडी खरिदका लागि विभिन्न आकर्षक अफरहरू प्रदान गरे। यी दुवै प्रदर्शनी आ–आफ्नै विशेषताका कारण चर्चामा रहे, तर व्यवस्थापन र प्रदर्शनीका हिसाबले कुन बढी प्रभावकारी रह्यो भन्ने विषयले भने बहस सिर्जना गरेको छ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले पहिलो पटक आयोजना गरेको यो एक्स्पो साउन २१ देखि २६ गतेसम्म चल्यो। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेको यस एक्स्पोमा वर्षाको चिन्ता भए पनि मौसमले साथ दियो। व्यवस्थापनको हिसाबले यो प्रदर्शनी निकै उत्कृष्ट रह्यो। ह्वीलचेयर प्रयोगकर्ताका लागि सहज पहुँच, व्यवस्थित पार्किङ र पुलिस क्लबको हलमा उद्घाटन कार्यक्रमले आगन्तुकलाई सहज बनायो।
एक्स्पोको अर्को प्रशंसनीय पक्ष भनेको परम्परागत उद्घाटन शैली तोडेर आयातकर्ता कम्पनीका प्रतिनिधिले नै गाडीहरू सार्वजनिक गर्नु थियो। साथै, नाइमाले टिकटबाट उठेको आम्दानीको ५% शिक्षा र अनुसन्धानको लागि फेलोसिपमा खर्च गर्ने घोषणा गरेर सामाजिक उत्तरदायित्वको उदाहरण पेश गर्यो। यसमा Jaecoo J5, Leapmotor B10, Maxus MIFA 7 र Ather Rizta जस्ता नयाँ मोडलहरू सार्वजनिक गरिए। तर, एक्स्पोमा पर्याप्त बैंक र बीमा कम्पनीका स्टल नहुँदा उपभोक्तालाई वित्तीय सेवा बुझ्न भने केही असहज भयो। पहिलो पटक आयोजना भए पनि १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्नु यसको सफलताको सूचक हो।
नाडा अटो शो २०२५
दशकौँदेखि नेपालको अटोमोबाइल क्षेत्रको प्रमुख प्रदर्शनीका रूपमा स्थापित नाडाको १७औँ संस्करण भदौ ३ देखि ८ गतेसम्म ‘Go For More’ थिममा आयोजना भयो। यस शोले १ लाख ७६ हजारभन्दा बढी दर्शकको सहभागितासहित नयाँ रेकर्ड कायम गर्यो। यहाँ Deepal eVTOL Flying Taxi र रोबोटहरू मुख्य आकर्षणका रूपमा रहे। नाडा अटो शोमा पर्याप्त बैंक तथा वित्तीय संस्थाको उपस्थिति रहेकाले उपभोक्तालाई कर्जा र बीमासम्बन्धी जानकारी लिन सजिलो भएको थियो।
तर, यस शोमा केही व्यवस्थापकीय चुनौतीहरू पनि देखिए। प्रदर्शनी अवधिभर दिउँसो पानी पर्दा आगन्तुकलाई केही असुविधा भयो। यद्यपि, नाडाका पदाधिकारीहरूले छाता बोकेर आगन्तुकलाई सहयोग गर्न खटिएको देखिन्थ्यो। विगत वर्षहरूमा झैँ यस पटक पनि पार्किङको समस्या कायमै रह्यो, जसले आगन्तुकलाई निकै कठिनाइ भयो। यसको जिम्मेवारी भने आयोजकभन्दा पनि समाजकल्याण परिषद्को भएको देखिन्छ।
अन्त्यमा, नाइमा एक्स्पोले नयाँपन, व्यवस्थापन र सामाजिक उत्तरदायित्वमा उदाहरणीय काम गर्यो भने नाडा अटो शोले आफ्नो विरासत र ठूलो उपस्थिति कायम राख्यो। दुवै प्रदर्शनीले नेपाली अटोमोबाइल बजारमा नयाँ उत्साह थप्दै दसैँ–तिहारको माहोललाई अझ रङ्गीन बनाएका छन्।


