तरुण खबर
९ भाद्र २०८२, सोमबार १४:३७
काठमाडाैं, ९ भदाै । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उपभोक्ता समितिमार्फत हुने विकास निर्माणका काममा विकृति बढेको बताएका छन्। उनले अब प्रदेश सरकारको १० लाख रुपैयाँभन्दा माथिका सबै योजनाहरू टेन्डर प्रक्रियाबाटै अगाडि बढाइने घोषणा गरेका छन्।
सोमबार निर्माण व्यवसायी सङ्घ मकवानपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले १० लाखमाथिका योजना टेन्डरबाट गर्ने विषय संसदबाटै पारित गरेर लागू गरिएको जानकारी दिए। उनले यसका लागि मन्त्रालयहरूलाई तयारी गर्न पनि निर्देशन दिइएको बताए।
‘लो बिडिङ’ को समस्या र समाधानको पहल
मुख्यमन्त्री बानियाँले निर्माण व्यवसायीहरू ‘लो बिडिङ’ (अत्यधिक कम मूल्यमा ठेक्का हाल्ने) को बाध्यताले कंगाल बन्न लागेको भन्दै चिन्ता व्यक्त गरे। यस समस्या समाधानका लागि सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्ने उनको भनाइ छ। ‘निर्माण व्यवसायीहरू अहिले बाँच्नकै लागि ६०-७० प्रतिशतसम्म घटेर ठेक्का हाल्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यो समस्या समाधान गर्न ‘एभरेज बिडिङ’ को अवधारणा ल्याउने प्रक्रियामा सरकार अग्रसर हुनुपर्छ।’
भ्रष्टाचारमुक्त प्रदेश निर्माणको प्रतिबद्धता
मुख्यमन्त्री बानियाँले ‘भ्रष्टाचारमुक्त बागमती प्रदेश’ बनाउने आफ्नो अभियानमा सबैले साथ दिन आग्रह गरेका छन्। उनले राज्य सञ्चालनमा स्वार्थको द्वन्द्व अन्त्य गर्न आफ्नो स्वामित्वमा रहेको ‘बानियाँ निर्माण सेवा’ कम्पनी परिवारका सदस्यको नाममा सारिसकेको बताए।
उनले निर्माण व्यवसायीहरूलाई कामको गुणस्तरमा कुनै सम्झौता नगर्न पनि आग्रह गरे। ‘ठेक्काहरूमा हिजो ८ वटा रड हाल्ने ठाउँमा ६ वटा हाल्ने दिन अब समाप्त भएको छ,’ उनले भने। इस्टिमेटअनुसार काम नगर्ने कर्मचारी र व्यवसायी दुवैलाई कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ।


