बाराही होटलले व्यापारमा गर्यो कीर्तिमानी वृद्धि, एकै वर्षमा ६५ करोडको कारोबार

बाराही होटलले व्यापारमा गर्यो कीर्तिमानी वृद्धि, एकै वर्षमा ६५ करोडको कारोबार तरुण खबर ११ भाद्र २०८२, बुधबार ११:१९
बाराही होटलले व्यापारमा गर्यो कीर्तिमानी वृद्धि, एकै वर्षमा ६५ करोडको कारोबार

काठमाडाैं, ११ भदाैं । नेपाली होटल उद्योगमा प्रतिस्पर्धी बजारका बाबजुद होटल बाराहीले उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको छ। ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै होटलले २०२५ मा ६५ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २०.८१ प्रतिशतको वृद्धि हो।

पोखराको लेकसाइड र काठमाडौँको ठमेलमा रहेका अत्याधुनिक शाखाबाट व्यापार सञ्चालन गरिरहेको बाराही समूहले २०२४ मा ५३ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो। होटलको व्यापार वृद्धिदरलाई नियाल्दा यो एकै वर्षमा उच्च दरमा बढेको देखिन्छ। यसअघि २०२३ मा २२ करोड ९० लाख, २०२२ मा ११ करोड ७० लाख र २०२१ मा १ करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो।

‘नेपालमै उत्पादन, नेपाली स्वाद, अन्तर्राष्ट्रिय सेवा’ भन्ने नारासहित अघि बढेको बाराही होटलले चितवनमा पनि आफ्नो शाखा विस्तार गरेको छ। होटलका अध्यक्ष हरिप्रसाद पौडेलको नेतृत्वमा सञ्चालित यस होटलमा पौडेल परिवार र ‘बाराही हाउजिङ एन्ड लिजिङ’को लगानी रहेको छ।

होटलको कोठा उपयोग दर (अकुपेन्सी रेट) हाल ७५ प्रतिशत रहेको छ, जुन २०२४ मा ७८ प्रतिशत थियो। होटलको आम्दानीको मुख्य स्रोत कोठा भाडा हो, जसमा वार्षिक ३१ प्रतिशतको वृद्धि भएको छ।

बाराही होटलले इक्रा नेपालबाट १ अर्ब ३२ करोड रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ पनि गराएको छ। यसमध्ये १ अर्ब २९ करोड दीर्घकालीन र ३ करोड अल्पकालीन कर्जाका लागि क्रमशः ‘एनबीबी माइनस’ र ‘एफफोर’ रेटिङ प्राप्त गरेको छ। यसले होटलको ऋण भुक्तानी क्षमतालाई बलियो देखाउँछ।