तरुण खबर
११ भाद्र २०८२, बुधबार ११:४६
काठमाडौं, ११ भदौ । नेपालका वाणिज्य बैंकहरूले आफ्ना कर्मचारीहरूको बोनस सुविधाका लागि साढे ११ अर्ब रुपैयाँभन्दा बढी रकम छुट्याएका छन्। गत आर्थिक वर्षमा २० वटा बैंकले कुल ११ अर्ब ५९ करोड २ लाख ५८ हजार रुपैयाँ बोनसको रूपमा छुट्याएका छन्, जुन उनीहरूको कुल तलब खर्चको १९.५७ प्रतिशत हो। बोनस ऐनअनुसार, बैंक तथा वित्तीय संस्थाले कर तिर्नुअघिको नाफाबाट अधिकतम १० प्रतिशतसम्म कर्मचारी बोनसका लागि छुट्याउन पाउँछन्।
सबैभन्दा धेरै बोनस नबिल बैंकले १ अर्ब १४ करोड ९५ लाख रुपैयाँ छुट्याएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) दोस्रो स्थानमा छ, जसले १ अर्ब ६ करोड ७८ लाख ४० हजार रुपैयाँ छुट्याएको छ। गत वर्ष सर्वाधिक नाफा कमाएका यी दुई बैंकले नै कर्मचारी बोनसमा पनि सबैभन्दा धेरै रकम खर्च गरेका छन्। तेस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले ९७ करोड ६० लाख रुपैयाँ छुट्याएको छ।
यसैगरी, प्रभु बैंकले ७० करोड ५ लाख, प्राइम बैंकले ६५ करोड ९८ लाख, कृषि विकास बैंकले ६५ करोड, कुमारीले ६४ करोड २३ लाख, लक्ष्मी सनराइजले ६४ करोड ९ लाख, राष्ट्रिय वाणिज्यले ६० करोड ५८ लाख र नेपाल बैंकले ६० करोड २५ लाख रुपैयाँ बोनस छुट्याएका छन्। अन्य बैंकहरूमध्ये सिद्धार्थ बैंकले ५५ करोड ९६ लाख, एनएमबीले ५२ करोड १७ लाख, स्ट्यान्डर्ड चार्टर्डले ५० करोड ६० लाख, सानिमाले ३९ करोड ५४ लाख र माछापुच्छ्रेले ३२ करोड २७ लाख रुपैयाँ छुट्याएका छन्। हिमालयन बैंक, सिटिजन्स र एनआईसी एसियाले क्रमशः २३ करोड १८ लाख, २० करोड ४२ लाख र २ करोड ४० लाख रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याएको वित्तीय विवरणमा उल्लेख छ।


