बजारबाट ४५ अर्ब तरलता तान्दै राष्ट्र बैंक

बजारबाट ४५ अर्ब तरलता तान्दै राष्ट्र बैंक तरुण खबर ११ भाद्र २०८२, बुधबार ११:५०
बजारबाट ४५ अर्ब तरलता तान्दै राष्ट्र बैंक

काठमाडौं, ११ भदौ । बैंकिङ प्रणालीमा तरलताको दबाब कम गर्न नेपाल राष्ट्र बैंकले आज (बुधवार) बजारबाट थप ४५ अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले २५ दिनका लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत उक्त रकम तान्न लागेको हो।

यो बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागी हुन पाउनेछन्। राष्ट्र बैंकले आज मध्याह्न ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल गर्ने समय तोकेको छ।

निक्षेप संकलनका लागि न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग जाँदा नि:शेष हुने गरी रकमको बोलकबोल गर्न सकिनेछ। रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिइने राष्ट्र बैंकले जनाएको छ।

खिचिएको यो रकम र यसको ब्याज असोज ५ गते भुक्तानी गरिनेछ। यस कदमले बजारमा रहेको तरलतालाई व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।