तरुण खबर
११ भाद्र २०८२, बुधबार १२:११
काठमाडौं, ११ भदौ । सरकारले लामो समयदेखि आन्दोलित उखु किसानहरूका लागि अनुदान रकम निकासा गरेको छ। अर्थ मन्त्रालयले मंगलबार रु. ७५ करोड ४९ लाख ३८ हजार २४० निकासा गरेको हो। यो रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत सिधै किसानको बैंक खातामा पठाइने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
यस पटक मन्त्रिपरिषद्को निर्णयअनुसार किसानलाई प्रति क्विन्टल रु. ३५ अनुदान दिइनेछ। यसअघि किसानले प्रति क्विन्टल रु. ७० पाउँदै आएका थिए। कृषि मन्त्रालयले पुरानै दरमा अनुदान दिने प्रस्ताव गरे पनि देशको आर्थिक अवस्थाका कारण यो पटक रकम घटाइएको हो।
अनुदान रकम निकासामा भएको ढिलाइले किसानहरू काठमाडौँमा आन्दोलनमा उत्रिएका थिए। यसैबीच, सिंहदरबारस्थित कृषि मन्त्रालयमा उखु किसान र सरकारी प्रतिनिधिबीच वार्ता भएको छ। वार्ताका लागि मन्त्री रामनाथ अधिकारीले कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंहको संयोजकत्वमा चार सदस्यीय टोली गठन गरेका थिए। वार्तामा किसानका तर्फबाट श्यामबाबु रायलगायत सहभागी छन्।


