उत्कृष्ट स्थानीय तहको सूचीमा नुवाकोटको वर्चस्व, दुप्चेश्वर गाउँपालिका राष्ट्रिय स्तरमा पहिलो

उत्कृष्ट स्थानीय तहको सूचीमा नुवाकोटको वर्चस्व, दुप्चेश्वर गाउँपालिका राष्ट्रिय स्तरमा पहिलो तरुण खबर ११ भाद्र २०८२, बुधबार १२:३४
उत्कृष्ट स्थानीय तहको सूचीमा नुवाकोटको वर्चस्व, दुप्चेश्वर गाउँपालिका राष्ट्रिय स्तरमा पहिलो

काठमाडौं, ११ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङ्कन (लिसा) को नतिजामा नुवाकोट जिल्लाका स्थानीय तहहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। यस मूल्याङ्कनमा राष्ट्रिय स्तरमै उत्कृष्ट ठहरिएका तीन गाउँपालिका र तीन नगरपालिकालाई मन्त्रालयले सम्मान गरेको छ।

राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा ल्याउने गाउँपालिकाहरूमध्ये नुवाकोटको दुप्चेश्वर गाउँपालिका ८४.७५ अंकसहित पहिलो स्थानमा रहेको छ। त्यस्तै, ककनी गाउँपालिका ८१.७५ अंकका साथ दोस्रो र पञ्चकन्या गाउँपालिका ७८.७५ अंकसहित तेस्रो स्थानमा रहेका छन्। यी तीनवटै गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रले गरेको छ।

यसको विपरीत, नेपाली कांग्रेसको नेतृत्वमा रहेका पालिकाहरूले लिसा मूल्याङ्कनमा कमजोर नतिजा ल्याएको देखिन्छ। कांग्रेसले दुई पटक नेतृत्व गरेको तारकेश्वर गाउँपालिकाले सबैभन्दा कम ४९.७५ अंक प्राप्त गरेको छ। नुवाकोटको १२ स्थानीय तहमध्ये ५ वटामा माओवादी केन्द्र, ६ वटामा नेपाली कांग्रेस र १ वटामा एमालेको नेतृत्व छ।

एमालेको नेतृत्वमा रहेको किस्पाङ गाउँपालिकाले ७७.२५ अंक प्राप्त गरेको छ, जहाँ माओवादी केन्द्रबाट निर्वाचित उपाध्यक्षले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्। यसैगरी, माओवादी केन्द्रको नेतृत्वमा रहेको बेलकोटगढी नगरपालिकाले ७५.५० अंक हासिल गरेको छ।

स्थानीय तहहरूको कार्यसम्पादन, उपलब्धि र विकास व्यवस्थापनको मूल्याङ्कन गरी सुधारका क्षेत्र पहिचान गर्न र स्थानीय तहहरूबीच स्वस्थ प्रतिस्पर्धाको भावना जगाउन लिसा मूल्याङ्कन गरिँदै आएको छ।