आफ्नो प्रेम विवाह अस्वीकार गरेपछि रुविको जीवन समाप्त पारेको लक्ष्मणको स्वीकारोक्ति

आफ्नो प्रेम विवाह अस्वीकार गरेपछि रुविको जीवन समाप्त पारेको लक्ष्मणको स्वीकारोक्ति तरुण संवाददाता ११ भाद्र २०८२, बुधबार १३:५२
आफ्नो प्रेम विवाह अस्वीकार गरेपछि रुविको जीवन समाप्त पारेको लक्ष्मणको स्वीकारोक्ति

काठमाडौैं । रुविकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका प्रमुख आरोपी लक्ष्मण पासवानले रुविकै आमाका कारण हत्या गर्नुपरेको बताएका छन् ।

आफूलाई जलाउनुअघि रेकर्ड गरेको करिब १० मिनेट लामो भिडियो सन्देशमा उनले हत्या गरेको स्वीकार गर्दै रुविकी आमा नै प्रमुख दोषी रहेको भनेका छन् । पासवानलाई माधवनारायण नगरपालिका–६ स्थित खेतमा जलेको अवस्थामा बुधबार प्रहरीले फेला पारेको थियो।

पासवानले भिडियो सन्देशमा रुविकी आमाकै कारण उसको हत्या गर्नुपर्ने अवस्था आएको उनले बताएका छन्। उनले भिडियो सन्देशमा आफूले कसरी हत्या गरे भन्ने कुरा नखुलाए पनि आफूहरूको प्रेमका कारण यो घटना भएको उनको जिकिर छ। भिडियोमा पासवानले रुविसँग कक्षा १० पढ्दादेखि नै प्रेम सम्बन्ध रहेको र दुवैजनाले सर्लाही जिल्ला अदालत र भारतको सीतामढीस्थित अदालतमा प्रेम विवाह गरेको, तर दुवै परिवारले सम्बन्ध अस्वीकार गरेको बताएका छन्।

पासवानले रुविकी आमाले पैसाको प्रलोभनमा परेर छोरीलाई अन्य केटाहरूसँग सम्बन्ध राख्न लगाएको आरोपसमेत लगाएका छन् । आत्मदाहअघि उनले भिडियोमार्फत आफू र रुविबीच लामो समय कुराकानी भएको र दुवैजनाले मर्ने निर्णय गरेको पनि बताएका छन्। ‘रुविलाई आमाले अरूसँग विवाह गराइन्, मसँग बस्न दिएनन्। अब म पनि बाँच्न चाहन्नँ,’ उनले भिडियोमा भनेका छन्। उनको हातमा ‘माई हर्ट रुविकुमारी’ लेखिएको ट्याटु खोपिएको छ ।

पासवानले हत्या गरेपछि आफ्नो हात कामेको र मर्न खोजेको बताएका छन् । गरिबीकै कारण रुविकी आमाले आफूलाई नस्वीकारेको बताएका छन् । उनले हत्या आरोपमा प्रहरीले पक्राउ गरेपछि १०–२० वर्ष जेल बसेर छुट्नु भन्दा संसार नै त्याग्ने बताएका छन् ।