धनुषा डिस्टिलरीको ‘मुस्ताङ गोल्ड’ मा मरेको झिंगा भेटिएपछि दुई लाख जरिवाना

धनुषा डिस्टिलरीको ‘मुस्ताङ गोल्ड’ मा मरेको झिंगा भेटिएपछि दुई लाख जरिवाना तरुण संवाददाता ११ भाद्र २०८२, बुधबार १४:२४
धनुषा डिस्टिलरीको ‘मुस्ताङ गोल्ड’ मा मरेको झिंगा भेटिएपछि दुई लाख जरिवाना

काठमाडौं । धनुषा डिस्टिलरी प्रा.लि.ले उत्पादन गरेको ‘मुस्ताङ गोल्ड’ नामक मदिरामा झिंगा भेटिएपछि दुई लाख जरिवाना तिर्नुपरेको छ । काठमाडौँ महानगरपालिकाले धनुषा डिस्टिलरी उद्योगमाथि कारबाही गरेको हो ।

सिलबन्दी अवस्थामा बजारमा बिक्री वितरण भइरहेको उक्त मदिरामा झिँगा फेला परेको थियो । मापदण्डविपरीत रहेकोले महानगरले दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।

भदौ ४ मा उपभोक्ता स्वयं आफै आएर महानगर प्रहरी बलमा मदिरामा झिँगा भेटिएकाले गुनासो गरेका थिए । विभागले उक्त मदिराको नमुना संकलन गरी भौतिक जाँच गरेको थियो । जाँचका क्रममा सिलबन्दी बोतलभित्र अखाद्य तत्त्व फेला परेको पुष्टि भएको छ ।

काठमाडौँ महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ को दफा १० (३) (ढ) अनुसार यो कार्य अनुचित व्यापारिक गतिविधि मानिएको छ। साथै, ऐनको दफा २९ (घ) र दफा ३० (१) (ख) बमोजिम धनुषा डिस्टिलरीले कानुन उल्लंघन गरेको ठहर गरिएको विभागले जनाएको छ ।

महानगरको कृषि तथा पशुपक्षी विभागका अनुसार, जरिवाना रकम काठमाडौँ महानगरपालिकाको राजस्व खातामा जम्मा गरिसकेपछि सोको जानकारी विभागमा पेस गर्नुपर्नेछ । काठमाडौँ महानगरपालिकाले बजारमा बिक्री हुने खाद्य तथा पेय पदार्थको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन र कडा कारबाहीको नीति अवलम्बन गरेको जनाएको छ ।

महानगरले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै बजारमा बिक्री वितरण हुने सबै खाद्य तथा पेय पदार्थको गुणस्तर जाँचलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।