अब छिट्टै खुल्दै नागढुङ्गा सुरुङमार्ग, ट्यागबाटै तिर्न सकिने शुल्क

अब छिट्टै खुल्दै नागढुङ्गा सुरुङमार्ग, ट्यागबाटै तिर्न सकिने शुल्क तरुण खबर १२ भाद्र २०८२, बिहीबार ११:१७
अब छिट्टै खुल्दै नागढुङ्गा सुरुङमार्ग, ट्यागबाटै तिर्न सकिने शुल्क

काठमाडाैं, १२ भदाैं । नेपालको पहिलो आधुनिक सुरुङमार्ग, नागढुङ्गा सुरुङमार्ग, अब सञ्चालनको अन्तिम चरणमा पुगेको छ। सडक विभागका अनुसार, आयोजनाको भौतिक प्रगति ९४.५ प्रतिशत पूरा भइसकेको छ र असोज महिनाभित्रै सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यो सुरुङमार्ग सञ्चालनमा आएपछि सवारी साधनबाट उपभोग दस्तुर (टोल शुल्क) सङ्कलन गरिनेछ। यो शुल्कबाट सुरुङको मर्मत, सम्भार र दिगो व्यवस्थापनका लागि आवश्यक स्रोत जुटाउने उद्देश्य छ। गत साउन २६ गतेको मन्त्रिपरिषद बैठकले शुल्कसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ।

शुल्क सङ्कलनका लागि आरएफआइडी (RFID) आधारित टोल सङ्कलन प्रणाली लागू गरिनेछ। यस प्रणालीमा सवारीको अगाडिपट्टि राखिएको बैंक खातासँग जोडिएको आरएफआइडी ट्यागको माध्यमबाट सोझै भुक्तानी गर्न सकिनेछ। यसले गर्दा सवारीलाई रोकेर भुक्तानी गरिरहनु पर्ने झन्झट हट्नेछ।

सडक विभागले सुरुङमार्गको नियमित सञ्चालन, मर्मतसम्भार र आपत्कालीन अवस्थाका लागि दक्ष जनशक्ति र अन्तर्राष्ट्रियस्तरको अनुभव भएका विशेषज्ञ सेवा प्रदायक परिचालन गर्ने तयारी गरिरहेको छ। २४ सै घण्टा सेवा दिनुपर्ने, आगलागी नियन्त्रण, पावर सप्लाई, भेन्टिलेशन, र आकस्मिक सुविधाजस्ता उच्च प्रविधियुक्त प्रणालीको अनुगमनका लागि यस्तो व्यवस्था गर्न लागिएको हो।

यसका लागि आवश्यक नमूना बोलपत्र तयार भई सार्वजनिक खरिद अनुगमन कार्यालयमा छलफल भइरहेको छ। यस्तै, लागत अनुमान तयार गर्ने काम पनि अन्तिम चरणमा पुगेको विभागले जनाएको छ।

सम्पूर्ण तयारी समयमा नै सम्पन्न गरी छिट्टै सर्वसाधारणको प्रयोगका लागि सुरुङमार्ग खुला गर्ने गरी काम भइरहेको विभागले बताएको छ।