तरुण खबर
२ फाल्गुन २०७७, आईतवार ११:०१
श्यामलाल श्रेष्ठ
जगत प्रकाशजंग शाह २०१८ माघको तेस्रो सातातिर चितवनमा मारिएका थिए । घटना माघ १८ गते भएको हो । त्यसबेला बुद्धसिंह राना, शमशेरबहादुर घिमिरे, जगत प्रकाशजंग लगायत ११ जनालाई समातियो । एउटा सानो गल्तीले गर्दा त्यत्रो घटना भएको हो । नेपाली काँग्रेसको योजना अनुसार उनीहरुले मेघौली जाने पुल चाहिँ सबै भत्काइदिएका थिए । यता विमानस्थल जोतिदिए । काठमाडौंबाट जाने बाटोको पुल भत्काउने जिम्मा उदयनाथ अधिकारीलाई दिइएको थियो ।
तर उनले फलेक मात्रै झिकेर छोडिदिए छन् । त्यस बेला सञ्चार सम्पर्कको साधन थिएन । भरतपुर कब्जा गरेपछि साथीहरू ढुक्कसँग बसेछन् । तर सेनाका मान्छे त पुलमा फलेक हाल्दै भरतपुरतिर प्रवेश गर्न थालेछन् । यसरी सेनाले भरतपुर घेरिहाल्यो । अरु दसजनालाई डोरीले बाँधेर सेनाले लगेछ । जगतजंगलाई चाहिँ राजपरिवारको मान्छे भएको हुनाले उनलाई मार्न दरबारको अनुमति लिनुपथ्र्यो ।
उनी रणबहादुर शाहकी बडामहारानीका वैधानिक सन्तान थिए । यदि उनले ल्याइते कान्छीपट्टिकी कान्तिवतीका सन्तान गिर्वाणयुद्धविक्रमलाई राजा नबनाएको भए जगतजंगका जिजुबाजे नै राजा हुन्थे, जेठो हाँगोको नाताले जगतजंग पनि राजा हुन्थे । राजगद्दीको असली हकदार म होइन, जगतजंग हो भन्ने कुरा महेन्द्रलाई राम्रोसँग थाहा थियो । त्यसैले महेन्द्रले कत्ति पनि ढिला नगरी जगतजंगलाई हातखुट्टा बाँधेर पहिले खुकुरीले टाउको काट्न लगाए । टाउको एउटा खाडलमा र शरीर अर्को खाडलमा पुर्न लगाए भन्ने सुनिएको थियो ।
राजगद्दीको असली हकदार म होइन, जगतजंग हो भन्ने कुरा महेन्द्रलाई राम्रोसँग थाहा थियो । त्यसैले महेन्द्रले कत्ति पनि ढिला नगरी जगतजंगलाई हातखुट्टा बाँधेर पहिले खुकुरीले टाउको काट्न लगाए । टाउको एउटा खाडलमा र शरीर अर्को खाडलमा पुर्न लगाए भन्ने सुनिएको थियो ।
हुन त शाहवंशीय राजाहरूमा आफ्नै भाइ–भाइबीच हत्या हिंसा भएको यो पहिलो घटना थिएन । राजा रणबहादुर शाह पनि आफ्नै औरस भाइ शेरबहादुरद्वारा काटिएका थिए । म सँगसँगै जेल परेकामध्ये १६ जना साथीहरूलाई फाँसी दिइयो । बुद्धसिंहको त फाँसी दिएकै दिनमा छोरी जन्मेकी थिइन् । उनी त मागेरै खानुपर्ने हालतमा पुगिन् । उता जगतजंगकी श्रीमती रश्मीलाई सारै चिन्ता भयो । सुवर्णजीले पनि सम्झाउन सक्नु भएन । कोलकाताको क्याम्पबाट आफ्नै घरमा ल्याएर राख्नुभएको थियो ।
उनी पहिले नै कोलकाता गएकी थिइन् । २०१७ सालको ‘कु’ हुनुअघिसम्म उनी नेपाल–भारत सांस्कृतिक केन्द्रमा काम गर्थिन् । पति मारिएपछि रश्मीले सुवर्णशमशेरसँग भनेकी थिइन्, ‘जर्साव, दरबार उडाउने जिम्मा मलाई दिनोस्, मेरो आधा शरीर त देशका लागि बलिदानी भइसक्यो, बाँकी आधाले राजा महेन्द्रलाई नसियत दिन्छु ।’
तीजको दिनमा नुहाई धुवाई गरी सबै मेकअप गरिन् र सहयोगीलाई भनिन्– आज तीजको दिन कसैलाई भेट्दिनँ । त्यसपछि उनी ढोका लगाएर सुतिन्, त्यतिबेला उनका छोराको चिठी पुगेछ । त्यो चिठी रश्मीलाई पु¥याउन तिलक जाँदा भेट्न सक्ने कुरै भएन, किनकि तीजको दिन मान्छे भेट्दिन भनेकी थिइन् । त्यो चिठी बाहिरै राखेछन् । पछि बंगाली नोकर रुँदै आयो । जबर्जस्ती ढोका खोलेर हेर्दा रश्मी मरिसकेकी रहिछन् । निद्रा लाग्ने औषधि खाएर बितेकी रहिछन् । मेरो श्रीमान्को अस्तु जहाँ जहाँ विसर्जन गरिएको छ, त्यहीँ त्यहीँ मेरो अस्तु पनि बिसर्जन गर्नु भनी पत्र लेखिएको रहेछ ।
पति मारिएपछि रश्मीले सुवर्णशमशेरसँग भनेकी थिइन्, ‘जर्साव, दरबार उडाउने जिम्मा मलाई दिनोस्, मेरो आधा शरीर त देशका लागि बलिदानी भइसक्यो, बाँकी आधाले राजा महेन्द्रलाई नसियत दिन्छु ।’
जगतजंग शाह मारिएपछि उनकी श्रीमती रश्मीले आत्महत्या गरेकी हुन् या योगसाधना गरेर मृत्युवरण गरेकी हुन् ? भन्ने यथार्थता अहिलेसम्म बाहिर आउन सकेको छैन । श्रीमान् जहाँ मारिएका हुन्, उहाँको अस्तु जहाँजहाँ विसर्जन गरियो, त्यही आफ्नो अस्तु विसर्जन गरियोस् भन्ने चाहना रश्मीको थियो । जगतजंगको अस्तु जहाँ जहाँ विसर्जन गरिएको थियो, त्यहाँ त्यहाँ रश्मीको अस्तु पनि विसर्जन गर्ने व्यवस्था सुवर्णजीले मिलाइ दिनुभयो । दाहसंस्कार चाहिँ कोलकातामै भयो । काजकिरिया पनि उतै भयो ।
त्यतिबेला जगतजंगजीका छोरा नवीनप्रकाश जंगशाह (पछि त्रिविको उपकुलपति भए) र छोरी सिन्धु राणा (पूर्वप्रधान सेनापति प्रज्वलशमशेर जबराकी श्रीमती) नाबालक नै थिए । चार दिनपछि म कोलकाताबाट सिमरा हुँदै काठमाडौं आएँ । केही दिन साथीहरूलाई भेटघाट गरेर यहाँको गतिविधि अध्ययन गरेँ । मैले सुवर्णजीलाई के भनेको थिएँ भने– ‘राजाले पूरै सीआइडी लगाएका छन्, तपाईले काठमाडौंमा मान्छे पठाउँदा राम्रोसँग सुझबुझ पु¥याएर विश्वासिलो मान्छे पठाउनोस्, हाम्रो सूचना लिक भइरहेको छ, धेरैजसो गतिविधि असफल भइरहेको छ ।’
(यो लेख, नेपाली काँग्रेसका नेता स्वर्गिय श्यामलाल श्रेष्ठसँग परशु घिमिरेले गर्नु भएको कुराकानीमा आधारित छ )


