अमेरिकामा विदेशी विद्यार्थीको बसाइ अवधि अब चार वर्षमा सीमित

अमेरिकामा विदेशी विद्यार्थीको बसाइ अवधि अब चार वर्षमा सीमित तरुण खबर १३ भाद्र २०८२, शुक्रबार १२:४८
अमेरिकामा विदेशी विद्यार्थीको बसाइ अवधि अब चार वर्षमा सीमित

काठमाडौं, १३ भदौ । ट्रम्प प्रशासनले विदेशी विद्यार्थी र आगन्तुकहरूको अमेरिका बसाइ अवधि निश्चित गर्ने नयाँ नियम प्रस्ताव गरेको छ। यो नियम लागू भएमा विदेशी विद्यार्थीहरूले आफ्नो अध्ययन कार्यक्रमको अवधिभर अमेरिका बस्न पाउने भए पनि त्यसको अधिकतम समयसीमा चार वर्ष हुनेछ।

हालको व्यवस्थाअनुसार, विद्यार्थी भिसा (एफ भिसा) भएकाहरूलाई अध्ययन अवधिभर अमेरिकामा बस्न अनुमति दिइन्छ। तर नयाँ प्रस्तावित नियमले अधिकतम चार वर्षको अवधि तोकेको छ। यसका साथै, अध्ययन पूरा भएपछि विद्यार्थीले अमेरिका छोड्न वा आफ्नो कानुनी हैसियत परिवर्तन गर्नका लागि ६० दिनको समय पाउनेछन्।

प्रस्तावित नियमले विदेशी मिडियाका पत्रकारहरूको बसाइ अवधि पनि २४० दिनमा सीमित गरेको छ, यद्यपि उनीहरूले आफ्नो कार्यकालका लागि समय थप गर्न सक्नेछन्।

ट्रम्प प्रशासनले अनिश्चित बसाइले सुरक्षा जोखिम बढाउने भन्दै यस्तो नियम ल्याएको हो। यसले सरकारलाई विदेशी नागरिकको निगरानी गर्न सजिलो हुने बताइएको छ। अमेरिकी विदेश विभागले पछिल्लो समय विद्यार्थी भिसामा कडाइ गर्दै आएको छ, जसअनुसार यस वर्ष ६,००० भन्दा बढी विद्यार्थी भिसा रद्द गरिएको छ। साथै, भिसा आवेदकहरूको “अमेरिकी नागरिकता, संस्कृति, सरकार, संस्थाहरू र संस्थापक सिद्धान्तहरूको प्रतिकूल र व्यवहार” समेत जाँच गर्न दूतावास र कन्सुलेटहरूलाई निर्देशन दिइएको छ।