दशैंका लागि सुकिला नोट सटही भदौ २९ देखि

दशैंका लागि सुकिला नोट सटही भदौ २९ देखि तरुण खबर १५ भाद्र २०८२, आईतवार १२:०१
दशैंका लागि सुकिला नोट सटही भदौ २९ देखि

काठमाडाैं, १५ भदाै । आगामी दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुकिला नोट साट्ने सुविधा खुला गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार यो व्यवस्था भदौ २९ गतेदेखि असोज १० गतेसम्म लागू हुनेछ।

नागरिक र संस्थाहरूले सुकिला नोट राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग तथा विभिन्न प्रदेश कार्यालयहरू — विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज, धनगढी — साथै थापाथलीस्थित केन्द्रीय कार्यालयबाट प्राप्त गर्न सक्नेछन्।

यसका साथै, राष्ट्र बैंकले जानकारी दिएअनुसार देशभरका बैंक तथा वित्तीय संस्थाहरूका शाखाहरूबाट पनि नोट साट्न सकिने व्यवस्था मिलाइएको छ। बैंकिङ कारोबारको नियमित समयमा नै सटही गर्न पाइनेछ।

राष्ट्र बैंकले हरेक वर्षजस्तै यसपालि पनि दशैंमा नयाँ तथा सुकिला नोटको उच्च मागलाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरेको हो। यसले नागरिकलाई सहज, व्यवस्थित र नजिकैको शाखाबाटै सेवा लिन सक्ने वातावरण बनाउने विश्वास गरिएको छ।