तरुण खबर
१५ भाद्र २०८२, आईतवार १२:११
काठमाडाैं, १५ भदाै । नेपाल ‘ए’ क्रिकेट टोलीले भारतको असम क्रिकेट एसोसिएसनलाई शनिबार राति भएको रोमाञ्चक खेलमा ९ रनले पराजित गर्दै पाँच खेलको टी-२० अभ्यास शृंखलामा २-१ को अग्रता लिएको छ।
नेपालको जितमा सन्दीप जोराले उत्कृष्ट अर्धशतकीय पारी खेले। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९६ रनको विशाल योगफल तयार पारेको थियो। जोराले ४८ बलमा ७४ रनको शानदार पारी खेले। यस्तै, आदिल आलमले ३५, तीर्थराज दासले ३३ र कप्तान अनिलकुमार शाहले ३१ रनको योगदान दिए। असमका आकाश सेन्गुप्ताले २ विकेट लिए।
१९७ रनको लक्ष्य पछ्याएको असमले कडा प्रतिस्पर्धा गरे पनि २० ओभरमा १८७ रन मात्र बनाउन सक्यो। असमका लागि निहार डेकाले सर्वाधिक ४० रन, कप्तान सुमित घडिगाओङ्करले ३६ र अब्दुल अजिजले ३१ रन बनाए।
नेपालका लागि कमलसिंह ऐरी, आकाश चन्द, विवेककुमार यादव र बासिर अहमदले समान २-२ विकेट लिए भने आदिल आलमले १ विकेट हात पारे।
शृंखलाको पहिलो खेलमा नेपाल डकवर्थ-लुइस पद्धतिको आधारमा १५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ९६ रनको फराकिलो जित हासिल गरेको थियो। अब नेपाल र असमबीचको चौथो अभ्यास खेल आज आइतबार साँझ हुनेछ भने पाँचौँ तथा अन्तिम खेल सोमबार हुनेछ।


