तरुण खबर
१५ भाद्र २०८२, आईतवार १२:४०
काठमाडाैं, १५ भदाै । महालक्ष्मी विकास बैंकलाई भारतको इन्डियन चेम्बर अफ कमर्स, कोलकत्ताले प्रतिष्ठित अवार्डबाट सम्मानित गरेको छ। बैंकले ‘सम्पत्ति गुणस्तर’ (Asset Quality) विधामा उक्त सम्मान प्राप्त गरेको हो।
नयाँ दिल्लीमा भदौ १२ गते (अगस्ट २९, २०२५) मा आयोजित ‘तेस्रो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स’ कार्यक्रममा महालक्ष्मी विकास बैंकलाई यो अवार्ड प्रदान गरिएको हो। बिमस्टेक क्षेत्रकै सबैभन्दा प्रतिष्ठित मानिने यस कार्यक्रममा भारत, श्रीलंका, नेपाल, म्यानमार र बंगलादेशका बैंकहरूको सहभागिता रहेको थियो।
बैंकले आफ्ना सम्पत्तिको संरचना, प्रभावकारी परिचालन र गुणस्तर सुधारमा गरेको उल्लेखनीय कामका लागि यो सम्मान प्राप्त गरेको जनाएको छ। यो अवार्डले अन्तर्राष्ट्रिय स्तरमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
हालै मात्र महालक्ष्मी विकास बैंकले भारतको प्रमुख वित्तीय संस्था एचडीएफसी बैंकसँग सीमापार भुक्तानी सेवाका लागि समझदारी पनि गरेको थियो। यो समझदारीअन्तर्गत भारतबाट नेपालमा भुक्तानी गर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याइएको छ।


