तरुण खबर
१६ भाद्र २०८२, सोमबार ११:५०
काठमाडाैं, १६ भदाै । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि अन्तर्राष्ट्रिय यात्रालाई सहज बनाउन नयाँ सेवाहरू सुरु गरेको छ। बैंकले निम्बज सँगको सहकार्यमा डाटा ई-सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (IDP) सेवाहरू प्रदान गर्ने भएको हो। अब नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत यी दुवै सेवाहरू लिन सक्नेछन्।
नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बाजगाइँ र निम्बजका निर्देशक ऋषभ तिमिल्सिनाले एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यस सम्झौताले विदेश यात्रामा जाने, विद्यार्थी, र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई विशेष फाइदा पुग्ने अपेक्षा गरिएको छ।
डाटा ई-सिम सेवा:
एनबैंक एपमार्फत ग्राहकले चीन, भारत, अमेरिका, अष्ट्रेलिया, दुबई, थाइल्यान्ड, कतार, जापान, कोरिया, इटाली, फ्रान्स, क्यानाडा लगायत २०० भन्दा बढी देश र क्षेत्रका लागि डाटा ई-सिम खरिद गर्न सक्नेछन्। यसले विदेशमा पुग्नेबित्तिकै सिमकार्ड खरिद गर्न केवाईसी फारम भर्नुपर्ने र विदेशी मुद्रा तिर्नुपर्ने झन्झटबाट मुक्ति दिनेछ।
अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (IDP) सेवा:
यस सेवा अन्तर्गत ग्राहकले एनबैंक एपमार्फत १० मिनेटभित्रै अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटका लागि अनलाइन आवेदन दिन सक्नेछन्। संयुक्त राष्ट्र संघको मापदण्डअनुसार तयार हुने यो अनुमतिपत्र १९० भन्दा बढी देशमा मान्य हुनेछ। आवेदनका लागि आफ्नो सवारी चालक अनुमतिपत्र अपलोड गरेपछि २४ घण्टाभित्रै विद्युतीय अनुमतिपत्र प्राप्त हुनेछ। यसलाई डिजिटल वा फिजिकल कार्ड दुवै स्वरूपमा प्रयोग गर्न सकिनेछ।
निम्बजका निर्देशक तिमिल्सिनाले यो सेवाले यात्रुहरूको सीमापार आवागमनलाई सहज र तनावमुक्त बनाउने बताएका छन्। निम्बज एक सुपर एप हो जसले च्याट, भिडियो कल, सामाजिक सञ्जाल, किनमेल, डिजिटल वालेट र अन्य धेरै सुविधाहरू एकै प्लेटफर्ममा प्रदान गर्दछ।
नबिल बैंकले देशभरिका २६८ शाखा र ३२१ एटिएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। विगत चार दशकदेखि बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै आएको छ।


