पूर्वी नाकाबाट डेढ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात, निर्यात कम

पूर्वी नाकाबाट डेढ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात, निर्यात कम तरुण खबर १६ भाद्र २०८२, सोमबार १२:१३
पूर्वी नाकाबाट डेढ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात, निर्यात कम

काठमाडाैं, १६ भदाै । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा पूर्वी नाका काँकडभिट्टा भन्सारबाट रु १ अर्ब ३२ करोड बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ। यसै अवधिमा रु १ अर्ब ६९ करोडभन्दा बढीको कृषि वस्तु आयात भएको तथ्याङ्कले देखाएको छ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, काँकडभिट्टाको कार्यालयले दिएको जानकारीअनुसार, साउन महिनामा सबैभन्दा धेरै चियाको निर्यात भएको छ। रु ३८ करोडको चिया निर्यात हुँदा रु ३२ करोड ४० लाख बराबरको अलैँची र रु २६ करोड ८० लाख बराबरको प्लाई र भेनियरको निर्यात भएको छ। निर्यात गरिएका अन्य प्रमुख वस्तुहरूमा अदुवा र अम्लिसो रहेका छन्।

कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार, आयाततर्फ भने ठूलो रकम खर्च भएको छ। सोही अवधिमा काँकडभिट्टा नाकाबाट कोदो, गेडागुडी, चामल, ताजा तरकारी, फलफूल, लसुन, आलु, मकै र पशु आहारजस्ता कृषिजन्य वस्तुहरू रु १ अर्ब ६९ करोड बराबरको आयात भएको छ।