‘युक्रेन युद्ध पश्चिमको देन हो’: पुटिन

‘युक्रेन युद्ध पश्चिमको देन हो’: पुटिन तरुण खबर १६ भाद्र २०८२, सोमबार १२:४१
‘युक्रेन युद्ध पश्चिमको देन हो’: पुटिन

काठमाडाैं, १६ भदाै । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा युक्रेनमाथिको आफ्नो आक्रमणको बचाउ गर्दै पश्चिमी मुलुकलाई युद्ध सुरु गरेको आरोप लगाएका छन्। साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले यो सङ्कट सन् २०१३-२०१४ मा युक्रेनमा भएको ‘कू’ को परिणाम भएको बताए, जसलाई पश्चिमी देशहरूले उक्साएका र समर्थन गरेका थिए।

यो युद्धले हालसम्म हजारौँ मानिसको ज्यान लिएको छ र पूर्वी युक्रेनका धेरै क्षेत्र ध्वस्त भएका छन्। पुटिनले युक्रेनलाई नेटोमा तान्ने पश्चिमी मुलुकहरूको निरन्तर प्रयास पनि सङ्कटको अर्को कारण भएको दाबी गरे।

उनले विश्वलाई अब ‘पुरानो युरोकेन्द्रित मोडलको सट्टा विभिन्न देशहरूको हितलाई ध्यानमा राख्ने प्रणाली’ आवश्यक भएको बताए। उनले चीन र भारतलगायतका रणनीतिक साझेदारहरूले युक्रेन सङ्कट समाधानमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।

यसै सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इरानी राष्ट्रपति मसुद पेजेस्कियान लगायतका नेताहरू सहभागी थिए।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि मस्को र किभ दुवैलाई सम्झौतामा आउन आग्रह गरेका छन्। तर, पुटिनले युद्धविरामको आह्वानलाई अस्वीकार गर्दै युक्रेनले थप भूभाग त्याग्नुपर्ने र पश्चिमी समर्थन परित्याग गर्नुपर्ने माग राखेका छन्। किभले भने ती मागलाई अस्वीकार गर्दै आफूहरूले युद्ध सुरु नगरेको बताएको छ।

पुटिनले द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास र हालै ट्रम्पसँग भएका वार्ताहरूबारे पनि छलफल गर्ने बताए। उनले सोमबार पछि भारतीय प्रधानमन्त्री मोदी, इरानी राष्ट्रपति पेजेस्कियान र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनसँग छुट्टै वार्ता गर्ने तयारी पनि गरेका छन्।