तरुण खबर
१७ भाद्र २०८२, मंगलवार ११:३७
काठमाडाैं, १७ भदाै । चाडपर्व नजिकिँदै गर्दा बजारमा बढ्दो मूल्यवृद्धिलाई नियन्त्रण गर्न सरकारले यो वर्ष पनि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। उपभोक्तालाई राहत दिने उद्देश्यले भदौ ३० गते देखि यी पसलहरू सञ्चालनमा आउनेछन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले संयुक्त रूपमा यी पसलहरू चलाउनेछन्। गत भदौ ८ गतेको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार देशभरका प्रमुख शहर र ग्रामीण क्षेत्रमा यी पसलहरू खोलिनेछन्।
कति छुट पाइन्छ?
यी पसलहरूमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुहरू बजार मूल्यभन्दा सस्तोमा किन्न पाउनेछन्।
कहाँ-कहाँ खुल्छन् पसल?
काठमाडौं उपत्यकामा कालीमाटी, सतुङ्गल, जावलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, सल्लाघारी, कौशलटार, काडाघारी, इमाडोल, महाराजगञ्ज लगायत १२ स्थानमा सुपथ मूल्य पसल खुल्नेछन्। साथै, उपत्यकाभित्र तीनवटा घुम्ती पसल पनि सञ्चालनमा ल्याइनेछ।
उपत्यकाबाहिर भने साल्ट ट्रेडिङका पसलहरू धनगढी, विराटनगर, हेटौंडा, पोखरा, भैरहवा, वीरगञ्ज लगायत २१ स्थानमा खुल्नेछन्।
त्यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंसहित ४५ जिल्लामा आफ्ना पसलहरू सञ्चालन गर्नेछ। यी पसलहरू छठ पर्वसम्म जारी रहनेछन्।


