तरुण खबर
१७ भाद्र २०८२, मंगलवार १२:०१
काठमाडाैं, १७ भदाै । नेपाललाई एक उदीयमान प्रविधि हब (Tech Hub) को रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले अमेरिकामा रहेका नेपाली र नेपाली मूलका प्रविधि विज्ञ तथा आविष्कारकहरूसँग एक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
शुक्रबार (अगस्ट २९) मा ‘जेनेसे सोलुसन’ नामक बेलायती आईटी परामर्श तथा साइबरसुरक्षा कम्पनीको साझेदारीमा आयोजित उक्त कार्यक्रमको शीर्षक ‘टेक फरवार्ड: युनाइटिङ डायस्पोरा ट्यालेन्ट टु पावर नेपाल’स डिजिटल लीप’ राखिएको थियो। कार्यक्रमको मुख्य उद्देश्य नवनियुक्त महावाणिज्यदूत दधिराम भण्डारीलाई नेपाली पेशेवर डायस्पोरासँग परिचित गराउनु, खुला संवादको सुरुवात गर्नु, सहकार्यलाई प्रोत्साहन गर्नु र भविष्यका लागि प्रविधि-सम्बन्धित पहलहरूको लागि आधार तयार गर्नु रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै महावाणिज्यदूत दधिराम भण्डारीले श्रम निर्यातको सट्टा आईटी सेवा निर्यातले नेपाललाई ऐतिहासिक अवसर दिएको बताए। उनले भने, “नेपाली डायस्पोराले मातृभूमिमा योगदान पुर्याउने अवसर पाएको छ। नेपालमा अहिले नवप्रवर्तन र प्रविधिको प्रयोग बढिरहेको छ, सरकारले पनि ठूला सुधारहरू गरिरहेको छ र एआई नीति ल्याएर ‘डिजिटल नेपाल फ्रेमवर्क २.०’ लाई अद्यावधिक गर्ने प्रक्रियामा छ।”
भण्डारीले आईटी क्षेत्रमा विदेशी प्रत्यक्ष लगानी (FDI) मा कुनै सीमा नभएको र सरकारले आईटी कम्पनी र पेशेवरहरूलाई विभिन्न प्रोत्साहन दिइरहेको जानकारी दिए। उनले भने, “नेपाली डायस्पोराजसँग ज्ञान, विशेषज्ञता र मातृभूमिलाई सहयोग गर्ने इच्छा छ। यस क्षेत्रले अमेरिकाका लागि पनि एक बलियो साझेदारीको ढोका खोल्न सक्छ। दूतावासको दायित्व नेपालको आईटी सम्भाव्यतालाई प्रवर्द्धन गर्नु हो, र म यसका लागि डायस्पोरा समुदायसँग हातेमालो गर्नेछु।”
‘डायस्पोरा लेन्स: ड्राइभिङ नेपाल’स डिजिटल फ्युचर’ शीर्षकमा प्रस्तुति दिँदै जेनेसे सोलुसनका संस्थापक तथा सीईओ अन्जनी फुयालले आफ्नो कम्पनीले विदेशमा रहेका नेपाली दूतावासहरूसँग मिलेर नेपाललाई प्रविधि गन्तव्यको रूपमा प्रस्तुत गरिरहेको बताए। उनले भने, “नेपाली डायस्पोराले विश्वव्यापी विशेषज्ञता र स्थानीय आवश्यकताबीच पुलको भूमिका खेल्न सक्छ। यो सही समय हो, नेपाल सरकार नीतिगत परिवर्तन गरिरहेको छ र डायस्पोरालाई आफ्नो साझेदारको रूपमा हेरेको छ।”
फुयालले नेपालले विशेष आर्थिक क्षेत्र (SEZ) अन्तर्गत ठूलो आईटी पार्क स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिँदै यसले स्वदेश र विदेशमा रहेका नेपाली पेशेवर तथा कम्पनीहरूका लागि नयाँ अवसरहरू ल्याउने बताए।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूमा ग्रोबाईडाटाका प्रबन्ध साझेदार प्रसन्न ढुंगेल र फ्युजमेशिन्स इन्कका प्रविधि प्रमुख अनिश जोशी पनि थिए। उनीहरूले आफ्नो अनुभव सुनाउँदै नेपालमा रहेको प्रतिभाको सदुपयोग गर्न र अन्तर्राष्ट्रिय बजारमा एक्सपोजर दिनुपर्नेमा जोड दिए।
प्यानलिस्टहरूले नेपालले आफ्नो ‘सफ्ट पावर’ पहिचान गरी नेपाली प्रतिभाका लागि ढोका खोल्नुपर्ने सुझाव दिए। उनीहरूले नेपालले कौशल, संस्कृति, प्रविधि र पूर्वाधारको विकासमा ध्यान दिनुपर्ने र यसका लागि कर्मचारीतन्त्र, उद्योग र शिक्षा क्षेत्रबीच साझेदारी हुनुपर्नेमा जोड दिए।
जेनेसे सोलुसनकी सुजिता बस्नेतले सहजीकरण गरेको उक्त कार्यक्रमको अन्तमा महावाणिज्यदूत भण्डारीले सहभागी सबैलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्तै अन्तरक्रियाहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।


