तरुण खबर
१७ भाद्र २०८२, मंगलवार १३:२१
काठमाडाैं, १७ भदाै । इन्फिनिक्सले नेपालमा आफ्नो नयाँ हट ६० प्रो सिरिज सार्वजनिक गरेको छ। यस सिरिज अन्तर्गत कम्पनीले दुई नयाँ स्मार्टफोन हट ६० प्रो प्लस र हट ६० प्रो बजारमा ल्याएको हो। आकर्षक डिजाइन र शक्तिशाली फिचरहरूसहित आएका यी फोनहरूले मिड–रेञ्ज सेगमेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने दाबी गरिएको छ।
हट ६० प्रो प्लसः सबैभन्दा पातलो स्मार्टफोन
नेपाली बजारमा यो सेगमेन्टको सबैभन्दा पातलो फोनको रूपमा आएको हट ६० प्रो प्लस केवल ५.९५ मिमि पातलो र १५५ ग्राम वजनको छ। पातलो भए पनि यसमा ५१६० एमएएच को ब्याट्री छ, जुन ४५ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ।
यसको अर्को मुख्य विशेषता भनेको १.५के रिजोल्युसनसहितको १४४ हर्ज रिफ्रेस रेट भएको कर्व्ड एमोलेड डिस्प्ले हो। फोनमा मिडियाटेक हेलियो जी२०० प्रोसेसर प्रयोग गरिएको छ, जसले ५ वर्षसम्म सहज प्रदर्शन सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।
क्यामेराको कुरा गर्दा, यसमा ५० मेगापिक्सेल क्षमताको सोनी आईएमएक्स८८२ क्यामेरा र एआई रअ इञ्जिन समावेश छ। साथै, यसमा ८ जीबी र्याम (जसलाई अतिरिक्त ८ जीबीले बढाएर १६ जीबीसम्म पुर्याउन सकिन्छ) र १२८ जीबी स्टोरेज दिइएको छ।
यी सबै विशेषतासहित हट ६० प्रो प्लसको मूल्य रु. २६,९९९ तोकिएको छ।
हट ६० प्रोः गेमिङ र मनोरञ्जनका लागि विशेष
हट ६० प्रो विशेषगरी गेमिङ र मनोरञ्जनका लागि डिजाइन गरिएको छ। यो ६.६ मिमि पातलो र १७० ग्राम वजनको छ, जसले गर्दा लामो समयसम्म प्रयोग गर्दा पनि सहज हुन्छ।
यसमा १.५के रिजोल्युसन र १४४ हर्ज रिफ्रेस रेट भएको एमोलेड डिस्प्ले छ, जसलाई कोर्निङ गोरिल्ला ग्लासले सुरक्षित गरिएको छ। यसमा पनि ५१६० एमएएच को ब्याट्री र ४५ वाट फास्ट चार्जिङ सुविधा उपलब्ध छ।
८ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको हट ६० प्रो को मूल्य रु. २०,९९९ रहेको छ।
इन्फिनिक्सले यी दुवै फोनहरूलाई नेपालभर विभिन्न आकर्षक रंगमा उपलब्ध गराएको छ। किफायती मूल्यमा प्रिमियम फिचरहरू प्रदान गर्दै यो सिरिजले नेपाली स्मार्टफोन बजारमा आफ्नो पकड बलियो बनाउने अपेक्षा गरिएको छ।


