तरुण खबर
१८ भाद्र २०८२, बुधबार ११:२४
काठमाडाैं, १८ भदाै । नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरूको गतिविधि अब राज्यको निगरानीमा रहने भएको छ। अध्यागमन विभागले विदेशी नागरिकहरूको आगमन, बसोबास र गतिविधि नियमन गर्न ‘दर्ता तथा अनुगमन प्रणाली’ लागू गर्न लागेको हो।
यो प्रणाली असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य रूपमा लागू हुनेछ। त्यसपछि दोस्रो चरणमा मंसिर १ बाट सबै तारे होटल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स, मनी एक्सचेन्जर लगायतमा विस्तार गरिनेछ।
अध्यागमन विभागले जारी गरेको विज्ञप्तिमा यो प्रणालीले विदेशी नागरिकहरूको बसोबास अभिलेख राख्न, आपत्कालीन अवस्थामा उद्धार गर्न र सम्भावित अपराध नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख छ। विभागका अनुसार देशको सुरक्षा, अन्तर्राष्ट्रिय प्रतिष्ठा, वैदेशिक लगानी र पर्यटन प्रवर्द्धनका लागि विदेशी नागरिकका गतिविधि निगरानीमा रहनु आवश्यक छ।
विदेशी नागरिकलाई सेवा दिने सबै सार्वजनिक तथा निजी संस्थाहरूलाई पनि अनिवार्य रूपमा यो प्रणालीमा आबद्ध हुन विभागले अनुरोध गरेको छ। यस प्रणालीको अनुगमनका लागि ७७ वटै जिल्लामा अनुगमन समिति सक्रिय बनाइने पनि विभागले जानकारी दिएको छ।



