तीन वर्षमै ८ अर्बको कारोबार, ‘समृद्धि’ ब्रान्डको व्यापारमा ऐतिहासिक फड्को

तीन वर्षमै ८ अर्बको कारोबार, ‘समृद्धि’ ब्रान्डको व्यापारमा ऐतिहासिक फड्को तरुण खबर २० भाद्र २०८२, शुक्रबार १३:२९
तीन वर्षमै ८ अर्बको कारोबार, ‘समृद्धि’ ब्रान्डको व्यापारमा ऐतिहासिक फड्को

काठमाडाैं, २० भदाै । नेपालको तेल उद्योगमा हालसालै स्थापित सिद्धिविनायक आयल्स प्रा.लि.ले आफ्नो ‘समृद्धि’ ब्रान्डको बलमा छोटो समयमै उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको छ। सन् २०२१ मा स्थापना भएको कम्पनीले तीन वर्षको अवधिमा ८ अर्ब ४० करोड ८० लाख रुपैयाँभन्दा बढीको कुल कारोबार गरेको छ। विशेषगरी, पछिल्लो एक वर्षमा कम्पनीको व्यापार ३.५७ गुणाले बढेर ५ अर्ब ९ करोड ७० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १ अर्ब ४२ करोड ५० लाख रुपैयाँ मात्र थियो।

नवलपरासी पश्चिमको रामग्राममा प्रशोधन प्लान्ट स्थापना गरेर सञ्चालनमा आएको सिद्धिविनायकले सोयाबिन, पाम ओलेइन र सनफ्लावर तेलको प्रशोधन र शुद्धीकरण गर्दै आएको छ। कम्पनीको वार्षिक उत्पादन क्षमता ३८ हजार ६४० मेट्रिक टन रहेको छ।

ब्यापारिक सफलताको कारण

कम्पनीका अनुसार यो व्यापारिक उछालको मुख्य कारण भारत सरकारले कच्चा र प्रशोधित तेलमा भन्सार दर बढाएपछि नेपालबाट निर्यातमा भएको वृद्धि हो। यसका साथै, ‘समृद्धि’ ब्रान्डको गुणस्तर, आकर्षक प्याकेजिङ र बलियो बजार सञ्जालले पनि ग्राहकको विश्वास जित्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

पछिल्ला वर्षहरूमा घाटामा रहेको कम्पनी चालु आर्थिक वर्षमा ५ प्रतिशत नाफा कमाउन सफल भएको छ। सन् २०२४ मा प्रति मेट्रिक टन १ लाख ५७ हजार २८८ रुपैयाँमा बिक्री भएको तेल सन् २०२५ मा २ लाख ७ हजार ४२३ रुपैयाँ पुगेको छ।

कम्पनीले आफ्नो विस्तारशील व्यापारिक योजनालाई ध्यानमा राख्दै ३ अर्ब ९ करोड ६० लाख रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ गराएको छ। गोयन्का ग्रुपअन्तर्गत सञ्चालित यो कम्पनीको नेतृत्व अध्यक्ष गोपाल गोयन्काले गरिरहेका छन्। उनको रणनीतिक नेतृत्वले कम्पनीलाई छोटो समयमै घरेलु बजारमा सशक्त उपस्थिति बनाउन मद्दत गरेको छ। यसले खाद्य सुरक्षासँगै रोजगारी सिर्जना, कर राजस्व र निर्यात प्रवर्द्धनमा पनि योगदान पुर्याएको छ।