बैंककमा युएनआईपी युएन ग्लोरी अवार्ड: नेपालका ११ जनासहित दर्जनौँ व्यक्ति र संस्था सम्मानित

बैंककमा युएनआईपी युएन ग्लोरी अवार्ड: नेपालका ११ जनासहित दर्जनौँ व्यक्ति र संस्था सम्मानित तरुण खबर २० भाद्र २०८२, शुक्रबार १३:४१
बैंककमा युएनआईपी युएन ग्लोरी अवार्ड: नेपालका ११ जनासहित दर्जनौँ व्यक्ति र संस्था सम्मानित

काठमाडाैं, २० भदाै । विश्व शान्ति यात्राको एक हिस्साको रूपमा, युनाइटेड नेचर इन्टरनेशनल पिस (युएनआईपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा बैंककको प्रिन्सटन होटलमा ‘युएनआईपी युएन ग्लोरी अवार्ड २०२५’ तथा ग्लोबल मिट भव्यताका साथ सम्पन्न भएको छ। सेप्टेम्बर १ मा आयोजित यस समारोहमा शान्ति, कला, व्यवसाय, र समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरियो।

यस वर्ष नेपालका ११ जनालाई विभिन्न विधामा सम्मानित गरिएको छ। जसमा अनुसन्धानतर्फ सुरेन्द्र वाग्ले, साहित्यतर्फ सुचिता कफ्ले, महिला उद्यमशिलतातर्फ सुमित्रा थापा, सामाजिकतर्फ सावित्री थापा खनाल, व्यवसायिक उद्यमशिलतातर्फ कृष्णहरी अर्याल, व्यवसायिक नेतृत्वतर्फ गंगाबहादुर खड्का, संचार तथा पत्रकारितातर्फ कुमारप्रसाद चौलागाईं, कृषिमा आधारित उद्योगतर्फ सुमन चिमरिया, राजनीति तथा स्थानीय शासनतर्फ दावा गुम्बो तामाङ, सार्वजनिक सेवातर्फ छेवाङ दोर्जे तामाङ, बहुक्षेत्र योगदानतर्फ हिराकाजी महर्जन, आयात-निर्याततर्फ अशेष कुमार बुढाथोकी, र रोजगारीतर्फ विवेक पौडेल रहेका छन्।

अन्तर्राष्ट्रिय सम्मान:

नेपालका वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटा र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झा पनि अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन्। अन्य सम्मानित हुनेहरूमा म्यानमारका कुमार कार्की (सामाजिक सेवा), कम्बोडियाका लाल सिंह खड्का (हस्पिटालिटी), र थाइल्याण्डकी वासना राई (व्यवसाय) लगायत अन्य थुप्रै अन्तर्राष्ट्रिय व्यक्तित्वहरू छन्। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र युएनआईपी थाइल्याण्ड च्याप्टरलाई संस्थागत सम्मान प्रदान गरियो।

यसका साथै, शान्ति र मानवताको क्षेत्रमा निरन्तर योगदान पुर्याएका १६ जना नेपाली व्यक्तित्वहरूलाई एक वर्ष अवधिको लागि अन्तर्राष्ट्रिय शान्तिदूतको उपाधि प्रदान गरिएको छ। यस सूचीमा भिक्षु डा. राजु लामा पी. कोंन्दन, सरोज ओझा, रवि राज शाही लगायतका व्यक्तित्वहरू छन्।

समारोहमा बोल्ने वक्ताहरूले विश्व शान्ति, एकता, र सहकार्यको महत्त्वमा जोड दिएका थिए। ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले कला र मिडियाले सीमाना नाघ्ने शक्ति रहेको र यसले विश्व शान्ति र समृद्धिका लागि महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे। त्यस्तै, युएनआईपी नेपाल च्याप्टरका राष्ट्रिय अध्यक्ष भिक्षु डा. राजु लामा पी कोंन्दनले शान्ति अभ्यास सबै समुदायमा समान रूपमा हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा शास्त्रीय नृत्य प्रदर्शन गर्नुका साथै भगवान बुद्धसम्बन्धी वृत्तचित्र पनि देखाइएको थियो। समारोहमा विभिन्न क्षेत्रका करिब १०० जनाको उपस्थिति रहेको थियो।