तरुण खबर
२२ भाद्र २०८२, आईतवार ११:५३
काठमाडाैं, २२ भदाै । म्याग्दीको रघुगंगा गाउँपालिकामा रहेका राहुघाट र सहायक नदीमा ५८.८ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन थालेका छन्। तुँदी पावर कम्पनीको ३७.५ मेगावाटको चिमखोला–राहुघाट–मंगले र संयुक्त ऊर्जा लिमिटेडको २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजनाले विद्युत उत्पादन सुरु गरेका हुन्।
उत्पादित बिजुली रघुगंगा ३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डबाट अस्थायी संरचनामार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। डाँडाखेत–राहुघाट प्रसारण लाइनको निर्माण कार्य सम्पन्न नभएकाले बिजुली खेर जान नदिन यो व्यवस्था गरिएको तुँदी पावरका आवासीय इन्जिनियर प्रकाश तिमिल्सिनाले जानकारी दिए।
चिमखोला–राहुघाट–मंगलेको विद्युतगृहसम्म ८ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन ठूलोखोला र २२.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको साझेदारीमा निर्माण गरिएको छ। चिमखोलाबाट तिल्केनीसम्म २२० केभी क्षमताको प्रसारण लाइन बनाउन भने ठूलोखोला, माथिल्लो ठूलोखोला, चिमखोला–राहुघाट–मंगले र अपर राहुघाट जलविद्युत् आयोजनाले सहयोग गरेका छन्।
हाल पूर्ण क्षमतामा सञ्चालनमा आएको ठूलोखोला जलविद्युत् आयोजनाको कुल लागत ३ अर्ब ६० करोड रुपैयाँ अनुमान गरिएको छ। यसमा नेपाल बैंक लिमिटेड, सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले लगानी गरेका छन्। यस आयोजनामा ३,३८२ मिटर सुरुङ र ६३४ मिटर पेनस्टक पाइप प्रयोग गरिएको छ। यस्तै, चिमखोला–मंगले–राहुघाट जलविद्युत् आयोजनामा ५ किलोमिटर ३०० मिटर लामो सुरुङ र ९५० मिटर पेनस्टक पाइपलाइन प्रयोग गरिएको छ।
यसैबीच, रघुगंगामा अन्य तीन आयोजनाको निर्माण पनि अन्तिम चरणमा पुगेको छ। तुँदी पावरको ४८.५ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजना, नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीको ४० मेगावाटको राहुघाट र २२.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना पनि छिट्टै सञ्चालनमा आउने तयारीमा छन्। यी तीन आयोजनाबाट १११ मेगावाट बिजुली उत्पादन हुनेछ।


