तरुण खबर
७ असार २०७८, सोमबार ०९:२८
काठमाडौं । भारतको उत्तर प्रदेश र हरियाणा सरकारले कोरोना संक्रमण फैलिन नदिन विभिन्न मापदण्ड तयार गर्दै एक साता लकडाउन थप गरेको छ । उत्तर प्रदेशले स्वास्थ्य मापदण्ड पालना गर्दै सबै पसल, रेष्टुरा, होटल खोल्न अनुमती दिएको छ भने हरियाणामा असार १४ गते (जुन, २८) सम्म लकडाउनको समय थप गरेको छ । हरियाणाका मुख्य सचिव विजय वर्धनका अनुसार पसलहरु बिहान १० बजेदेखि ८ बजेसम्म खोल्न पाइने छ भने विवाहमा ५० जनासम्म व्यक्तिहरुलाई समेल हुन छुट दिएको छ ।
संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२०, जुन) १८ लाख ११ हजार ३८७ जनाको नमुना परीक्षण गर्दा ५३ हजार ९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । १९, जुनमा २० लाख ३९ हजार ९४१ जनाको नमुना परीक्षण गर्दा ५८ हजार ५८८ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । त्यस्तै पछिल्लो २४ घण्टा (२०, जुन) मा कोरोना भाइरस संक्रमणबाट १ हजार ११३ जनाको निधन भएको छ । १९, जुनमा कोरोनाभाइरस संक्रमणबाट १ हजार २ सय ३९ जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार असार ७ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ९९ लाख ३४ हजार ३६१ जना छन् । भारतमा २ करोड ८८ लाख ३६ हजार ५२९ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख ९ हजार ६६८ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (शनिबार) मा ७८ हजार ८२ जना कोरोना मुक्त भएका छन् । असार ७ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ८८ हजार १६४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।


