जेन-जेडको सडक मार्च: भ्रष्टाचारविरुद्ध नयाँ आवाज

जेन-जेडको सडक मार्च: भ्रष्टाचारविरुद्ध नयाँ आवाज तरुण खबर २३ भाद्र २०८२, सोमबार ११:०४
जेन-जेडको सडक मार्च: भ्रष्टाचारविरुद्ध नयाँ आवाज

काठमाडाैं, २३ भदाै । सामाजिक सञ्जालमा सीमित युवाहरूको असन्तुष्टि आज सडकमा पोखिएको छ। भ्रष्टाचार, कुशासन र सरकारको सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयविरुद्ध नेपालको जेन-जेड पुस्ताले आज बृहत् र शान्तिपूर्ण प्रदर्शन गरेको छ।

काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको यो आन्दोलनमा राष्ट्रिय झण्डा बोकेका युवाहरूको ठूलो भीड जम्मा भएको थियो। उनीहरूले देशभक्तिपूर्ण गीत गाउँदै ‘जनताको आक्रोश चरममा, नेताको गोजी भरिएर’ र ‘कर कहाँ गयो?’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए। प्रदर्शनमा केही विद्यार्थीहरू विद्यालय र कलेजको पोसाकमै पनि सहभागी भएका थिए, जसले विद्यार्थी वर्गको सक्रिय संलग्नतालाई उजागर गरेको छ।

आयोजकहरूले यो आन्दोलनलाई कुनै पनि राजनीतिक दल वा सम्बद्ध समूहबाट अलग राख्दै स्वतन्त्र, निष्पक्ष र जनतामुखी भएको स्पष्ट पारेका छन्। सहभागीहरूले प्रदर्शनका क्रममा कुनै पनि सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउने र नागरिक अधिकारको सम्मान गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

यो प्रदर्शनलाई स्वतन्त्र युवा, पेसाकर्मी, कलाकार र केही राजनीतिक प्रतिनिधिहरूले समेत समर्थन गरेका छन्, जसले आन्दोलनको स्वतन्त्र चरित्रलाई सम्मान गरेका छन्। काठमाडौँबाहेक रुपन्देही र दाङ जस्ता जिल्लाहरूमा पनि युवाहरूको यस्तै प्रदर्शनहरू देखिएका छन्, जसले यो आन्दोलनको राष्ट्रव्यापी विस्तारलाई सङ्केत गर्छ।

राजनीतिक विश्लेषकहरूले यो आन्दोलनलाई एउटा महत्त्वपूर्ण मोडका रूपमा लिएका छन्, किनकि यसले युवा पुस्ताको असन्तुष्टि अब सामाजिक सञ्जालबाट बाहिर निस्केर राष्ट्रिय राजनीतिक चेतनालाई आकार दिन थालेको देखाउँछ। आन्दोलनका थप जानकारीका लागि टिकटक र भाइबर जस्ता सामाजिक सञ्जालहरू पछ्याउन आयोजकहरूले आग्रह गरेका छन्।