तरुण खबर
२३ भाद्र २०८२, सोमबार ११:१०
काठमाडाैं, २३ भदाै । लामो समयदेखि मन्दीमा रहेको नेपाली स्टिल उद्योगमा व्यापारिक गतिविधि बढ्न थालेको छ। हालैका व्यापारिक तथ्यांकले यसको संकेत गरेका छन्। यसै क्रममा, भाटभटेनी समूहद्वारा सञ्चालित काठमाडौं स्टिलको कारोबारमा ठूलो वृद्धि देखिएको छ।
आर्थिक वर्ष २०२४-२५ को नौ महिनामा कम्पनीले २ अर्ब ३४ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २८.८४ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीको कारोबार १ अर्ब ८१ करोड ७० लाख रुपैयाँ रहेको थियो। यो वृद्धिसँगै, कम्पनीले चालू आर्थिक वर्षमा ३ अर्बभन्दा बढीको कारोबार गर्ने अनुमान गरिएको छ।
लगातारका वर्षहरूमा कारोबारमा आएको गिरावटलाई चिर्दै कम्पनीले सन् २०२४ मा व्यापारमा सुधार ल्याएको थियो। सन् २०२१ मा ३ अर्ब ६३ करोड ६० लाख रुपैयाँको कारोबार गरेको कम्पनीको व्यापार सन् २०२२ मा २ अर्ब २३ करोड ६० लाख र सन् २०२३ मा १ अर्ब ७० करोड ३० लाखमा झरेको थियो।
कम्पनीले अहिले मेल्टिङ प्लान्ट निर्माणका लागि १ अर्ब ७७ करोड १० लाख रुपैयाँ लगानी गर्दैछ, जसले उद्योगको मूल्य अभिवृद्धि बढाउने अपेक्षा गरिएको छ। यस लगानीको ८० प्रतिशत कर्जा र २० प्रतिशत इक्विटीबाट जुटाइनेछ। हालसम्म ११ प्रतिशत लगानी खर्च भइसकेको कम्पनीले जनाएको छ।
सन् २००९ मा स्थापना भई २०१३ देखि व्यावसायिक उत्पादन सुरु गरेको काठमाडौं स्टिलले भारतबाट आइरन बिलेट आयात गरी डन्डी र बाइन्डिङ तार उत्पादन गर्दै आएको छ। कम्पनीको वार्षिक उत्पादन क्षमता १ लाख ५० हजार मेट्रिक टन रहेको छ।
इक्रा नेपालका अनुसार, कम्पनीले ४ अर्ब ६१ करोड १४ लाख रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ। कम्पनीमा भाटभटेनी समूहका सञ्चालक मीनबहादुर गुरुङको मुख्य लगानी रहेको छ।


