तरुण खबर
२३ भाद्र २०८२, सोमबार ११:४३
काठमाडाैं, २३ भदाै । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ। विगत डेढ महिनाको अवधिमा उपचारका क्रममा बर्दघाट नगरपालिका-१२ का ७४ वर्षीय पुरुष, सरावल गाउँपालिका-१ का ६२ वर्षीय पुरुष र प्रतापपुर गाउँपालिका-१ का ५० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख भेषराज शर्माका अनुसार, मृत्यु भएका तीनै जनाले जापानीज इन्सेफलाइटिसविरुद्धको खोप लगाएका थिएनन्। यो रोग क्यूलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट मानिसको मस्तिष्कमा सङ्क्रमण गराउने एक गम्भीर रोग हो, जसले मस्तिष्क सुन्निने, पक्षाघात हुने, रिङटा लाग्ने र बेहोस हुने जस्ता लक्षण देखाउँछ।
यसैबीच, जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने अर्को रोग डेङ्गीको सङ्क्रमण पनि फैलिएको छ। हालसम्म नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ। एडिस एजिप्टी प्रजातिको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट स्वस्थ मानिसमा यो रोग सार्ने गर्दछ।
सरसफाइको कमीले सङ्क्रमण तीव्र गतिमा फैलिएको भन्दै स्थानीय तहहरूले लामखुट्टे नियन्त्रण र रोगको रोकथामका लागि जनचेतना अभियान चलाइरहेका छन्। डाक्टर नुरुलहोदाका अनुसार, डेङ्गीका सामान्य लक्षणहरूमा उच्च ज्वरो, टाउको दुखाइ, आँखाको पछाडि दुख्ने, मांसपेशी दुख्ने र खाना खान मन नलाग्ने जस्ता समस्या देखिन्छन्। समयमै उपचार नगर्दा यसले ज्यानसमेत लिन सक्छ।


