आक्रोशित कृषिमन्त्री रामनाथ अधिकारीद्वारा राजीनामा

आक्रोशित कृषिमन्त्री रामनाथ अधिकारीद्वारा राजीनामा तरुण खबर २४ भाद्र २०८२, मंगलवार १०:४२
आक्रोशित कृषिमन्त्री रामनाथ अधिकारीद्वारा राजीनामा

काठमाडाैं, २४ भदाै । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जेनजी आन्दोलनमा सरकारले गरेको दमनको विरोध गर्दै पदबाट राजीनामा दिएका छन्। उनले देशलाई शोकाकुल बनाउने गरी निर्दोष युवाहरूको हत्या भएको भन्दै नैतिक रूपमा सरकारमा बसिरहन नसक्ने बताएका छन्।

मन्त्री अधिकारीले आफ्नो राजीनामा पत्रमा लेखेका छन्, ‘स-साना कलिला छोराछोरीहरूको हत्या र दमनपछि सरकारमा बसिरहनु मेरो नैतिकता र दलको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको छ। मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले म यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै राजीनामा पेश गर्दछु।’

उनले देश निर्माणमा सहकार्य गर्नुपर्ने युवा पुस्तासँग युद्धजस्तो व्यवहार गरिएको भन्दै यसको जवाफ सरकारले दिनुपर्ने बताएका छन्। मन्त्रीको यो कदमले वर्तमान सरकारमाथि थप नैतिक दबाब बढेको छ।