संकट समाधानका लागि जनार्दन शर्माका ७ सुझाव: जेनजीसहितको अन्तरिम सरकारदेखि शक्तिशाली आयोगसम्म

संकट समाधानका लागि जनार्दन शर्माका ७ सुझाव: जेनजीसहितको अन्तरिम सरकारदेखि शक्तिशाली आयोगसम्म तरुण खबर २६ भाद्र २०८२, बिहीबार ०८:३५
संकट समाधानका लागि जनार्दन शर्माका ७ सुझाव: जेनजीसहितको अन्तरिम सरकारदेखि शक्तिशाली आयोगसम्म

काठमाडाैं, २६ भदाै । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मुलुकमा उत्पन्न विषम परिस्थिति र संकट समाधानका लागि विभिन्न सुझावहरू अघि सारेका छन्। एक प्रेस विज्ञप्ति जारी गर्दै उनले विशेष गरी जेनजी (GenZ) पुस्ताको आन्दोलन र त्यसले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्दै समाधानका लागि केही महत्वपूर्ण कदमहरू चाल्नुपर्नेमा जोड दिएका छन्।

शर्माले सुझाएका मुख्य बुँदाहरू यस प्रकार छन्:

१. जनसुरक्षा: सर्वप्रथम जनताको सुरक्षा सुनिश्चित गर्नुपर्ने। मुलुकमा व्याप्त भय र त्रासको अवस्था अन्त्य गर्दै जनतालाई सुरक्षित महसुस गराउनुपर्ने।

२. जेनजीसहितको अन्तरिम सरकार: विषम परिस्थितिमा जेनजीहरूको समेत अपनत्व र प्रतिनिधित्व हुनेगरी अन्तरिम सरकार गठन गर्नुपर्ने। यस्तो सरकार गठन गर्दा संविधानका सबै धाराहरूको अक्षरशः पालना नभए पनि संविधानको मर्ममा टेकेर गर्नु आवश्यक छ।

३. भ्रष्टाचार छानबिन आयोग: भ्रष्टाचारको जालो अन्त्य गर्न शक्तिशाली र स्वतन्त्र छानबिन आयोग गठन गरी दोषीलाई कडा कारबाहीको दायरामा ल्याउनुपर्ने।

४. अराजकताको अन्त्य: संविधानको रक्षा हुन नसके सबै वैधानिकता समाप्त भई थप अराजकता सिर्जना हुने भएकाले वैधानिक बाटोबाटै समाधान खोज्नुपर्ने।

५. सरकारको जिम्मेवारी: हालको संकटको मुख्य जिम्मेवार सरकारमा रहेका राजनीतिक पार्टी र विशेषगरी दुई तिहाईको सरकार रहेको उनको आरोप छ। नेताहरूको परिवारवाद र कुर्सीमोहले नै आजको अवस्था सिर्जना भएको उनको भनाई छ।

६. दमनको निन्दा: जेनजी पुस्ताले उठाएको शान्तिपूर्ण आन्दोलनमा सरकारले गरेको दमन र नरसंहारको उनले घोर भर्त्सना गरेका छन्। आन्दोलनमा सहादत प्राप्त गर्नेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

७. वैधानिकताको अपील: राष्ट्रको संकट सबै नागरिकको सरोकारको विषय भएकाले आन्दोलनले स्थापित गरेका नारा र एजेन्डाहरूलाई सफल पार्न वैधानिकतालाई आत्मसात गर्न सबैमा उनले आग्रह गरेका छन्।

शर्माले संविधान बाहिर गएर सरकार गठन गरिएमा राज्यका सबै निकायको वैधानिकतामाथि प्रश्न उठ्ने र यसले थप जटिलता उत्पन्न गर्ने चेतावनी पनि दिएका छन्। उनले नेताहरूले वर्तमान संकट समाधानका लागि पहल गर्ने सामर्थ्य र नैतिक आधार गुमाएको समेत आरोप लगाएका छन्।