तरुण खबर
२६ भाद्र २०८२, बिहीबार ०८:५१
काठमाडाैं, २६ भदाै । काठमाडौं उपत्यकामा लागेको कर्फ्यू आंशिक रूपमा खुकुलो पारिएपछि सर्वसाधारणहरू बिहानैदेखि अत्यावश्यक सामग्री खरिद गर्न निस्किएका छन्। नेपाली सेनाले बुधबार राति नै निषेधाज्ञा र कर्फ्यू खुकुलो बनाएको थियो।
बिहान ६ बजेदेखि कर्फ्यू खुलेपछि राजधानीका विभिन्न स्थानमा मानिसको चहलपहल बढेको छ। बिगमार्ट लगायतका ठूला किराना स्टोर तथा साना खाद्यान्न पसलहरू पनि खुलेका छन्। खाद्यान्न, तरकारी र अन्य दैनिक उपभोग्य वस्तु किन्नका लागि पसलहरूमा मानिसहरूको भीड लागेको छ। औषधि पसलहरूमा पनि उत्तिकै चहलपहल देखिएको छ।
पेट्रोल र डिजेलको आवश्यकता भएकाहरू पनि भद्रकालीस्थित सेनाको रिपुमर्दिनी पेट्रोल स्टेसनमा लाइन लागेका छन्। यो पेट्रोल पम्प आज दिनभर खुला रहने जानकारी दिइएको छ। यसअघि पनि यो पम्प सञ्चालनमा आएको थियो।
कर्फ्यू खुकुलो भएपछि केही हदसम्म भए पनि राजधानीवासीको दैनिकी सहज बन्न थालेको छ।


