युवा संघको आक्रोश: ‘जेनजी’ आन्दोलनको आडमा सरकारी सम्पत्ति तोडफोडको भर्त्सना

युवा संघको आक्रोश: ‘जेनजी’ आन्दोलनको आडमा सरकारी सम्पत्ति तोडफोडको भर्त्सना तरुण खबर २६ भाद्र २०८२, बिहीबार ०९:३०
युवा संघको आक्रोश: ‘जेनजी’ आन्दोलनको आडमा सरकारी सम्पत्ति तोडफोडको भर्त्सना

काठमाडाैं, २६ भदाै । राष्ट्रिय युवा सङ्घ, नेपालले हालैका आन्दोलनका क्रममा भएको जनधनको क्षति र महत्त्वपूर्ण राष्ट्रिय सम्पत्तिमाथि भएको विनाशकारी घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। शान्तिपूर्ण रूपमा सुरु भएको युवा आन्दोलन हिंसामा परिणत हुनु र सरकारी सम्पत्तिमा क्षति पुग्नु दुर्भाग्यपूर्ण भएको सङ्घले बताएको छ।

एक अपिल जारी गर्दै सङ्घले ‘जेनजी’ आन्दोलनको मूल उद्देश्य भ्रष्टाचारमुक्त र सुशासित मुलुक निर्माण गर्नु रहेको स्मरण गराएको छ। तर, आन्दोलनको आडमा प्रधानमन्त्री निवास, संसद् भवन, राष्ट्रपति भवन, सिंहदरबार, सर्वोच्च अदालत र अन्तर्राष्ट्रिय विमानस्थल जस्ता सार्वजनिक तथा सरकारी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, हिंसा र लुटपाटको सङ्घले घोर निन्दा र भर्त्सना गरेको छ।

सङ्घले यी घटनाको गम्भीर छानबिन गरी दोषीहरूलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउन पनि माग गरेको छ। यसले भविष्यमा यस्ता घटना दोहोरिन नदिने र शान्तिपूर्ण आन्दोलनको गरिमा जोगाउन मद्दत पुग्ने सङ्घको विश्वास छ। साथै, राष्ट्रिय युवा सङ्घले सबैलाई सद्भाव, सजगता र राष्ट्र जोगाउनका निम्ति अपिल गरेको छ।